• ट्रेण्डिङ्ग :
म्यादी प्रहरी भर्ना सन्दर्भ
जिन्दगीमा नोटको खडेरी चलेको छ, तपाई भोटको कुरा गर्नुहुन्छ

जिन्दगीमा नोटको खडेरी चलेको छ, तपाई भोटको कुरा गर्नुहुन्छ


  • 16.1K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 24.7K Views

    जिन्दगीमा नोटको खडेरी चलेको छ, तपाई  भोटको कुरा गर्नुहुन्छ

    काठमाडौं, ७ चैत । भोजपुरका राजु राई  काठमाडाैंकाे स्वयम्भुमा बस्छन् । उमेरले २९ वर्ष लागेका राजु प्रहरी कार्यालय टेकुस्थित म्यादी प्रहरीको आवेदनदिने लाईनमा बसेका छन् । बिहान १० बजे प्रहरी परिसर टेकुमा पुगेका उनी दिउँसो एक बजेसम्म लामो लाइनमै थिए । जागिर भयो भने, मतदान गर्न पाउनु हुन्न नी होइन ? भन्ने तेस्रो आँखाको प्रश्नमा उनले मुस्कुराउँदै भने ‘यहाँ जिन्दगीमा नोटको खडेरी चलेको छ, तपाई भने भोटको कुरा गर्नुहुन्छ ।’

    images

    तीन घण्टा अघिदेखी लगातार खट्दा पनि आफ्नो फारम भर्ने काम पुरा नभएको भन्दै उनी दिक्क भैसकेको बताउँछन् । त्यस्तै स्थायी घर नुवाकोट बताउँने काठमाडौंको बसुन्धारामा बस्दै आएका दिलकुमार तामाङ म्यादी प्रहरीको लागि भनेर आवेदन दिन दिउँसो एक बजेतिर प्रहरी परिसरमा पुगेका थिए । उनले फारम लिन पनि लाइनमा बस्न पर्ने भन्दै आक्रोस पोखिरहेका थिए । ‘फारम लिन पनि लाईनमा बस्न पर्ने फारम त खुरुखुरु दिए हामी भरेर लाईनमा बस्थ्यौंनी’ उनले भने ‘यस्तो झन्झटीलो काम छ, न बसेर फारम भर्ने कतै ठाउँ छ भुइँमा बसेर फारम भर्नु परेको छ ।

    यस्तो छ भन्ने थाहा पाएको भए म आउदिनथेँहोला ।’ एक महिना भएरपनि यसो अनुभव सँगै केही पैसा हुने आसले फारम भर्न आएको उनले बताए । सोमबार प्रहरी परिसर टेकुमा निकै घुइँचो थियो । आवेदनको लागि लाइनमा बसेकाहरु अधिकांश युवाउमेरका थिए । महिला र अर्धवैश्य मानिसहरुको पनि संख्या लाइनमा  निकै थियो । आवेदकहरुको भिडले सडकमा सवारीसाधन सञ्चालनमा समेत केही असर पुगेको देख्न सकिन्थ्यो ।

    प्रहरीहरु सवारीसाधन सञ्चालनमा असर नपुगोस भन्ने हेतुले आवेदकहरुलाई सडकको किनारामा बस्न आग्रह गरिरहेको थिए । आवेदकहरुको संख्या यति धेरै थियो की, आवेदन फारम नै सकिएर भोली बिहान १० बजे आउन प्रहरीले आग्रहर गरिरहेको थियो । यो भीड र भीडमा उभिएकाहरुको चेहरा हेर्दा बेरोजगारीको समस्याले मान्छेहरुलाई निकै सताएको सहजै बुझ्न सकिन्छ । स्थानीय तहको निर्वाचनको नेपाल प्रहरीले काठमाडौं सहित देशभरका जिल्ला प्रहरी कार्यालयमा फारम भर्ने गरी म्यादी प्रहरीको आवेदन आव्हान गरेको छ ।

    स्थानीय तहको चुनाव आगामी वैशाख ३० मा हुँदै छ । सोही निर्वाचन सुरक्षा प्रयोजनका लागी प्रहरीले एक खाल म्यादी प्रहरीको माग गरेको हो । एक लाख म्यादी आवश्यक ठानेर माग गरिएको सिटमा देशभरीबाट दैनिक लाख भन्दा बढीले आवेदन दिने गरेको प्रहरी श्रोतको भनाइ छ । आइतबारबाट म्यादी प्रहरीको लागि आवेदन खुला गरिएको थियो । प्रहरीले निकालेको सूचना अनुसार यही चैत ११ गते सम्म म्यादी प्रहरीको लागि दरखास्त दिन पाइने छ । म्यादी प्रहरीको आवेदन दिन देशभरका सबै जिल्ला प्रहरी कार्यालहरुमा बिहानै देखि आवेदहरुका यत्तिकै  घुइँचो लाग्ने गरेको छ ।

    काठमाडौंको टेकुमा आवेदन दिनेहरुको भिड लागेको थियो । त्यहाँ नजिकैका फोटोकपी गर्ने स्थान तथा होटलहरु  निकै व्यस्त थिए ।  म्यादी प्रहरीमा गएका मानिसहरुको संख्या हेर्दा नेपालमा बेरोजगारी कति रहेछ भन्ने प्रष्ट हुन सकिन्छ । केही सिमित समयको लागि खुलाइएको काममा लाखौंको संख्यामा आवेदन दिनेहरु निर्वाचन सकिएपछि कता जान्छन् यो पनि चासोको विषय बनेको छ ।

    नेपाल सरकारले म्यादी प्रहरीमा लागेकाहरुले भोट हाल्न नपाउने व्यवस्था गरेको छ । तर भोटको महत्वलाई विर्षिदैं आफ्नो आर्थीक पाटोलाई केही सहयोग पुग्ने हेतुका साथ बेरोजगार युवाहरु म्यादी प्रहरीको जिम्मेवारी  लिन लाइन बसेको बताउँछन् । स्थानीय सरकार नागरिकको सबै भन्दा नजिकको सरकार भएकाले प्रत्येक नागरिकले चुनावलाई सक्षम नेतृत्व चुन्ने अवसरका रुपमा लिनु पर्ने हो । तर  बेरोजगार युवायुवतिहरु नोटको अभाव ढाक्न भोटको महत्व भूलेर म्यादी प्रहरी हुने आकांक्षाका साथ दिनभर टन्टलापुर घाममा लाइन बसीरहेका छन् ।   

     

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी

  • पदम भुजेल
    लेखकबाट थप