नगरको नेतृत्व हत्याउन दर्जन नेताको दौडधुप 

नगरको नेतृत्व हत्याउन दर्जन नेताको दौडधुप 


  • 27.5K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 42.3K Views

    नगरको नेतृत्व हत्याउन दर्जन नेताको दौडधुप 

    काठमाडौं, ७ चैत । ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन । स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा हेरिन्छ । कानुनी हिसावले स्थानीय तह भए पनि यसलाई व्यवहारिक रुपमा स्थानीय सरकारकै रुपमा परिभाषित गरिएको छ । स्थानीय सरकारको अभ्याससहित पर्याप्त अधिकारसँगै नागरिकसँग प्रत्यक्ष जोडिने निकाय स्थानीय तह भएकाले यसको नेतृत्वमा आउन चाहानेहरु लामवद्ध छन् । सरकार संघीयतापछिको दोस्रो कार्यकालका लागी स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने गरी सबैखालका तायरीमा जुटेको छ ।

    images

    स्थानीय तह निर्वाचनको मिति नजिकीदै गर्दा उम्मेदवारहरु सलबलाउन थालेका छन् । सिद्धिचरण नगरपालिका जिल्लाकै सबैभन्दा ठूलो अड्डा हो । नगरपालिकाको नेतृत्वमा दावी गर्नेहरुको लर्को लागेको छ । नेपाली कांग्रेसबाट डिल्लीराम खनाल, तेजेन्द्र खनाल, विनोद केसी र हेमालक्ष्मी राईले दावेदार प्रस्तुत गरेका छन् । प्रेम गुरुङ, सर्वधन तामाङ र निबन्द श्रेष्ठलेसमेत मेयर हुने इच्छा व्यक्त गरेका छन् । त्यस्तै नेकपा एमालेबाट मोहन कुमार श्रेष्ठ, शंकर कट्वाल, सिताराम गुरुङ, र इच्छा कुमारी गुरुङले बलियो दावेदारी प्रस्तुत गरेका छन् ।

    एलायन्स नभइ सिंगल चुनाव लड्नुपर्दा नेकपा माओवादी केन्द्रमा रुवपेश शाक्य र एकीकृत समाजवादीबाट हंशराज वाग्लले मेयरमा लड्ने करिव पक्का छ । जनता समाजवादीबाट मेयरका लागी खासै नाम चर्चामा आएको छैन् ।  तथापी विभिन्न राजनीतिक दलहरुबाट करिव दर्जन नेताले नगरपालिकाको मेयर ताकेका छन् ।

    नेपाली कांग्रेसबाट मेयरका दावेदारहरु 

    सिद्धिचरण नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका चार जान नेताहरुको नाम चर्चामा छ । जिल्ला सभापति तेजेन्द्र खनाल, नेता डिल्लीराम खनाल, वडा नम्बर ११ का अध्यक्ष विनोद कुमार केसी र महिलासंघ जिल्ला अध्यक्ष हेमालक्ष्मी राईले मेयरको दावी गरेका हुन् । 

    नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा सिद्धिचरण नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष केसीले आफ्नो उम्मेदवारी स्वभाविक भएको दावी गरे ।  ‘पार्टीले सर्वसम्मत टिकट उपलब्ध गराउने अपेक्षा छ’, उनले भने, ‘राज्यको नीति अनुसार प्रभावकारी ढंगबाट नगरपालिकालाई सञ्चालन गर्ने, नगरपालिकाको चौतर्फी विकासका लागि नागरिकदेखि माथिल्लो निकायसम्म आवश्यक समन्वय सहकार्य गर्न सक्ने भएकाले मेरो उम्मेदवारी पार्टीले स्वभाविक ठान्नु पर्छ ।’ विविधतामा एकता कायम गरेर सुन्दर नगरपालिका बनाउने आफ्नो योजना रहेको भन्दै कसीले मेयरको दावी गरेको बताए । 

    यस्तै कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नेता तेजेन्द्र खनालले नगरपालिकाको मेयरमा आफ्नो प्रतिष्पर्धा भन्दा पनि पार्टीले सर्वसहमत निर्णय गर्दा जिम्मेवारी लिने बताए । ‘पार्टीका धेरै साथीहरुले तपाई उठ्नुपर्छ भन्नुभएको छ’, उनले भने, ‘मेरो दावी भन्दा पनि नगरका आम जनता, पार्टी नेता कार्यकर्ताको आग्रह र आवश्यक्ता अनुसार मेयरमा उठ्ने योजना बनाउने छु ।’ सभापति भइसकेको हुँदा जिल्लाका सबै स्थानीय तहमा निार्वचन जिताउनु पर्ने भूमिकामा बढी रहेको भन्दै अहिले पार्टीको ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई लिएर चुनावमा आधारित कार्यक्रमहरु लिएर गाउँ गाउँमा पुगेको उनले बताए ।

    त्यसैगरी पार्टी नेता डिल्ली खनालले पनि सिद्धिचरणको मेयरमा आकांक्षा व्यक्त गरेका छन् । ‘मेरो स्वास्थ्यमा आएको समस्याका कारण आठ महिनादेखि दिल्लीमा उपचारत छु’, उनले भने, ‘मेरो स्वास्थ्यमा अहिले पूर्णमात्रामा सुधार आएको छ, ‘अब म केही समयबाट साथीभाईसँग भेटघाट र चुनावी तयारीमा लाग्छु ।’ स्वास्थ्यमा सुधार आइसकेको हुँदा आफूले नगरबासी नागरिकका लागि धेरै कामहरु गरेको छु, त्यसलाई पूर्णता दिन पनि एकपटक मेयर भएर नागरिकको सेवा गर्ने मनशाय छ ।’ 

    कांग्रेसकै नेत्री हेमालक्ष्मी राईले आफू मेयरमा उठ्ने भन्दा पनि निर्वाचन जितेर मेयर बन्ने बताएकी छन् ।‘मैले जिल्ला कार्यसमितिको बैठकमा प्रस्ताव राखिसकेकी छु’, उनले भनिन् ‘पार्टीले टिकट दिएमा म मेयरमा उठ्ने छु । अब पार्टीले टिकट नै दिएन भने एक्लै उठेर जित्ने कुरा भएन ।’ नेपाली कांग्रेसको घरघर जाऔं, कांग्रेस जिताऔं अभियान अन्र्तगत उनले गाउँगाउँमा संगठन विस्तारसँगै भेटघाट गरेर आफ्ना योजनाहरु बताउँदै चुनावको तयारी गरिरहेको बताइन् ।   

    नेकपा एमालेबाट टिकट लिने दौडको लाइनमा 

    नेपाली कांग्रेस जस्तै नेकपा एमालेबाट पनि आगामी स्थानीय तहको निर्वाचनमा मेयको दावी गर्नेहरुको लाइन उत्तिकै छ । नेकपा एमालेका तर्फबाट पार्टी जिल्ला अध्यक्ष शंकर कटवाल, रुम्जाटारका पूर्व गाविस अध्यक्ष सिताराम गुरुङ र वर्तमान नगर उपप्रमुख इच्छा कुमारी गुरुङको नाम चर्चामा छ भने वर्तमान मेयर मोहन कुमार श्रेष्ठले पनि पुनः दोहोर्याउने आकांक्षा राखेका छन् । 

    नेकपा एमालेका जिलला अध्यक्ष शंकर कटवालले आफूले अघिल्लो निर्वाचनमा पनि मेयरको दाबी गरेको तर अन्तिममा अरुलाई टिकट मिलेको हुनाले पनि यो पटक आफू स्वत मेयरको दावेदार भएका बताएका छन् । ‘उम्मेदवारको हकमा मापदण्ड, आधार र विधि पद्दतीमा रहेर पार्टीले छलफल गरेर टुंगो लगाउने छ ।’ उनले भने ‘अघिल्लो निर्वाचनमा पनि मेरो दावी रहेकोले र पार्टीको लागि गाउँमै बसेर निरन्तर काम गरेको छु, मेरो मेयरमा यो पटक पनि दावी रहन्छ ।’ पार्टीसंगठनको  पालिका वडा स्थरमा आधारित कार्यक्रमहरु गरिरहेको उनको भनाइ छ । आफूलाई प्रमुख दावेदारका रुपमा उभ्याएको कट्वालले बताए ।  

    त्यस्तै २०५४ मा रुम्जाटर गाविसका अध्यक्ष भएर काम गरेका नेता सिताराम गुरुङले जनताको सहभागितात्मक विकासका लागि आफूले मेयरको दावी गरेको बताए । ‘जुन किसिमको सुधार हुन पथ्र्यो त्यो भएन’, गुरुङले भने, ‘म उठ्ने नै भन्ने छ । अब पार्टीमा निणर्य भएर अन्तिममा के हुन्छ थाहा छैन ।’ तर अघिल्ला जनप्रतिनिधिहरुबाट भएका कमिकमजोरीलाई हटाउन एमालेबाट आफू मेयरको मुख्य दावेदार हुँ ।’ केही सुधारका काम भएको भएता पनि दीर्घकालीन विकासमा जनताले सोचेजस्तो विकास नभएको उनले बताए ।   

    त्यस्तै वर्तमान नगर उप–प्रमुख इच्छा कुमारी गुरुङले पनि सिद्धिचरणको मेयरमा दाबी गरेकी छन् । ‘उप–प्रमुख भएर काम गर्दै गर्दा प्रमुख चलाउन सक्छु भन्ने आँट आएको छ ।’, उनले भनिन् ‘आफ्नो इच्छा चाहना र आंकाक्षा मेयरमा उठ्ने नै छ । तर पार्टीले टिकट दिन्छ दिदैंन र सहमति के हुन्छ भन्ने हो ।’ पार्टी भित्र दावी प्रस्तुत गर्ने बताउँदै उनले पार्टीले टिकट दिएको खण्डमा प्रमुखमा लड्ने बताइन् । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठसमेत पुनः एक पटक मेयर भएर काम गर्न पक्षमा देखिएका छन् ।  

    माओवादी र नेकपा एसका आकांक्षिहरु के भन्छन् ?

    नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धी देखिन्छ । कांग्रेस एमालेसँगै अन्य दलबाट पनि मेयरको दावी प्रस्तुत गरिरहेका छन् ।

    नेकपा (माओवादी केन्द्र) बाट रुपेश शाक्यले मेयरमा उठ्ने आकांक्षा व्यक्त गरेका छन् । ‘गठबन्धनको कुरा आएको छ’, उनले भने,‘गठबन्धनबारे कस्तो निणर्य हुन्छ, र चुनाबी माहोल कस्तो बन्छ त्यही अनुसार अघि बढ्ने हो ।’ अवसर जुरेको खण्डमा मेयरमा उम्मेदवारी दिने कुरामा ढुक्क भएको बताए । पार्टीको गठबन्धन गर्ने नगर्ने निणर्य अनुसार अगाडी बढ्नु पर्ने भएकाले आफ्नो दावी भन्दा पनि चुनावी अवस्था कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाई छ । नेकपा माओवादी केन्द्रबाट गुण कुमार राई (रुपक) ले पनि मेयरको दावी गरेको बुझिएको छ । 

    नेकपा (एकिकृत समाजवादी) पार्टीबाट सिद्धिचरण नगरपालिकाको मेयरमा जिल्ला अध्यक्ष हंसराज वाग्लेले दावी गरेका छन् । मेयरको टिकटका लागि उनलाई पार्टीमा कुनै नेता कार्यकर्ता फकाइ रहन पर्दैन । मेयरमा जित्ने ठोकुवा गर्दै आएका नेता वाग्ललेले तेस्रो आँखासँग भने, ‘सिद्धिचरण नगरपालिकाको मेयरको आकांक्षा मात्र होइन चुनाव जित्ने नै मै हुँ ।’ 

  • सम्बन्धित विषय:

  • # सिद्दचरण नगरपालिका

  • जीवन शर्मा
    लेखकबाट थप