• ट्रेण्डिङ्ग :
सरकार सही नीतिमा अघि बढेको छ : प्रधानमन्त्री ओली

सरकार सही नीतिमा अघि बढेको छ : प्रधानमन्त्री ओली


  • 6.3K
    SHARES
    • जेठ २६, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 9.6K Views

    सरकार सही नीतिमा अघि बढेको छ : प्रधानमन्त्री ओली

    काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ ।

    images

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र एमालेबिचको सहमतिबमोजिम अबको १३ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्याउनुभयो । 

    “हाम्रा विरोधीले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले काँग्रेसले पनि त्यो भन्न पाउँछ ”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ–आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौँ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।”

    प्रविधिको यस जमानामा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

     

    विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संंग्रहको घोषणा गर्न बाद्य बनाउने यही संगठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गर्नुभयो । उहाँले यस गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उहाँले यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन निर्देश गर्नुभयो । 

    “तपाईंहरुको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरुले चिनोस्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन”, उहाँले भन्नुभयो, “एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारीरुपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ । पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन ।”


    तेस्रो आँखा