काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध जारी राखेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।
सभामुखले सदनको कारबाही सुरु गरेसँगै उनीहरुले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताउनुभयो ।
उहाँले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताउनुभयो । आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको बताउनुभयो । उहाँले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताउनुभयो ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गर्नुभयो । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरूले अपराधी नभनेको बताउनुभयो । भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गर्नुभएको छ ।
