काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
बिहीबार बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको हो । कार्यवाहक सभापति डिपी अर्यालको अध्यक्षतामा बस्ने बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा आयोजना हुनेछ ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ को आसन्न उपनिर्वाचन, समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रका विविध विषयमा छलफल हुनेछ ।
प्रवक्ता झाका अनुसार सचिवालयका सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । रूपन्देही–३ को उपनिर्वाचनलाई लिएर रास्वपाले आन्तरिक गृहकार्य सुरु गरिसकेको छ ।
बैठकमा उम्मेदवार चयन प्रक्रिया, गठबन्धन समन्वय, चुनावी रणनीति र स्थानीय संगठन सुदृढीकरणका विषयमा निर्णय हुने बताइएको छ ।
