काठमाडौं, १० चैत । एमालेले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो ।
एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताए । स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उनको भनाइ छ ।
स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महशुस गरे भने त्यो भन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्छन् । त्यसका लागि हामीले ढोका बन्द नगरेकाे रिजालकाे भनाइ छ । पार्टीमा बढिरहेको जनमतको लहर कम गर्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी राष्ट्रिय नीति बनाएर अघि नबढ्ने उनले प्रष्ट पारे ।
