अष्टिन, टेक्सास
अभिनेता पल शाह र अभिनेत्री नीति शाह अभिनीत नेपाली फिल्म ‘मोहर’ अष्टिनमा भव्य रूपमा प्रदर्शन भएको छ। नेपालीज इन्टरटेनमेन्ट अष्टिनको प्रस्तुतिमा आइतबार, सेप्टेम्बर ७ मा रेगल मेट्रोपोलिटन हल (Regal Metropolitan, 901 Little Texas Ln, Austin, TX 78745) मा गरिएको विशेष शोमा ४०० भन्दा बढी दर्शकहरूको उपस्थितिले हल खचाखच भरिएको मात्र होइन, दर्शकहरूले जमिनमै बस्नुपर्ने अवस्था समेत सिर्जना भएको थियो। तर भुइँमा बसेर समेत फिल्म हेरेका दर्शकहरूमा कुनै असुविधा नभई बरु विशेष अनुभूति भएको बताइएको छ। उपस्थित एक दर्शकले भने, “भुइँमै बसेर पनि यति राम्रो चलचित्र हेर्न पाउँदा गर्व महसुस भयो, यो जीवनकै अर्को अद्भुत क्षण जस्तो लाग्यो।” निर्माता चुम्बन जंग शाही र निर्देशक ओम प्रतीक द्वारा प्रस्तुत यो चलचित्र “A Story Based on Unwritten Rules” भन्ने ट्यागलाइनसहित आएको हो। चलचित्रले समाजका संवेदनशील यथार्थलाई उजागर गर्दै प्रेम, पीडा र मानवीय भावनालाई गहिरो ढंगले प्रस्तुत गरेको छ। दर्शकहरूले चलचित्रलाई अत्यन्त भावनात्मक अनुभव भएको भन्दै प्रतिक्रिया दिएका छन्। “आँसु, हाँसो, रुदन र भावनाका सबै रंग एउटै चलचित्रमा अनुभव गर्न पाइयो। यो फिल्म साना बच्चादेखि बुढापाका सबैले हेर्न लायक छ। यस्तो उत्कृष्ट फिल्म निर्माण गरेकोमा ‘मोहर’ निर्माण टोली र सम्पूर्ण कलाकारलाई हार्दिक धन्यवाद छ,” दर्शकहरूले बताएका छन्। आयोजक सुजन बुढाथोकी र निम भारती ले अष्टिनवासी नेपाली समुदायलाई देखाएको साथ र प्रेमप्रति आभार व्यक्त गर्दै चलचित्रले अमेरिकी भूमिमा नेपाली चलचित्रको नयाँ रेकर्ड स्थापित गरेको बताए। उनका अनुसार, दर्शकबाट प्राप्त समीक्षा १०० प्रतिशत सकारात्मक रहेको छ। आयोजकले सोही हलमा अर्को शो पनि चाँडै प्रदर्शन गरिने जानकारी दिएका छन्। तर बिहान १० बजे हुने भनिएको मिति भने चाँडै सार्वजनिक गरिने जनाइएको छ। यसरी, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पहिलो पटक अष्टिनमा नेपाली फिल्मलाई दिएको यो ऐतिहासिक साथले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि मजबुत स्थान बनाउन सक्ने सम्भावना प्रष्ट देखिएको छ।
सामना देवकोटा
