काठमाडाैं,११ चैत्र । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकले स्थानीय तहको निर्वाचन संसदीय बोर्ड गठन, चुनाव तालमेललगायत विषयमा निर्णय लिने नेपाली कांग्रेसले जनाएको छ ।
उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय बोर्ड गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायत विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य रामहरी खतिवडाले बताए । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने र चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।
केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरू पदेन सदस्य हुन्छन् । सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ । महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ ।
उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिले गर्नुपर्दछ । प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले देशभरका ६ हजार ७४३ वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्ने अधिकार विधानले अधिकार दिएको छ ।
कांग्रेस संस्थापनइतर पक्षले विधान अनुसार टिकट वितरणको अधिकार सबन्धित संरचनालाई दिनुपर्ने माग गर्दै आएको छ । नेता डा शेखर कोइराला पक्षका नेताहरुले चुनावी गठबन्धन नगरी एकल लड्नु पर्ने बताएका छन् । कांग्रेस एक्लै चुनावमा जाने कुरा ठिक भएपनि पूनः बाम एकताको भयले सताएको नेताहरुको बुझाइ छ । केन्द्रीय सदस्य खतिवडाले भने, ‘सबै पार्टीहरु सिंगल चुनावमा जाने अवस्था भए कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्षम छ, तर छिमेकी राष्ट्र चीनले एमाले–माओवादी लगायत कम्युनिष्टहरु मिलाउन प्रयत्न गरिरहेको छ ।’
संविधान जोगाउने कुरामा वर्तमान गठबन्धनका नेताहरु सबैको भूमिका सकारात्मक भएकाले केपी ओलीको अधिनायवादी र राष्ट्रघाती प्रवृतिको विरुद्धमा गठबन्धन नटुटाई चुनावी तालमेल जान सकिने पक्षमै छौं ।’ आजको बैठकमा सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा पनि छलफल हुनेछ । सभापति शेरबहादुर देउवा पक्ष चुनावी तालमेलको पक्षमा छ ।
नेता शेखर पक्ष देशभर घोषित तालमेल गर्न नहुनेमा अडिग छ । ‘हामी एक्लै चुनाव लड्न सक्षम छौं,’ कोइराला पक्षका नेता गुरुराज घिमिरेले भने, ‘चुनावी तालमेल गर्दा पार्टीको तत्लो संरचनाले आवश्यकता अनुसार निर्णय गर्ने गरी खुल्ला छाड्नु पर्छ, केन्द्रको जवरजस्त निर्णयले भूगोलमा असर पर्छ ।’ सभापति देउवाले संस्थापन इतर समूहका नेता शेखर कोइरालासँग सल्लाहा अनुसार भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने फोन वार्तागरेपनि एकलौटी रुपमा अघि बढेको भन्दै शेखर समूह रुष्ट बनेको छ ।
उक्त विषयलाई समेत शेखर पक्षले आजको बैठकमा उठाउने भएको एक केन्द्रीय सदस्यले बताए । नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान गुरुङ मनोनीत गर्दा सभापतिले परामर्श नगरेको शेखर पक्षको दाबी छ । केन्द्रीय कार्यालय सानेपामा २ बजेदेखि बोलाइएको छ । पार्टीको बैठकमा घर घर जाऔं कांग्रेस जिताउ अभियानमा खटेका नेताहरुले प्रतिवेदन बुझाउन पर्ने नेताहरूले बताउका छन् ।
कार्यसमितिको बैठकमा गत निर्वाचनहरुमा असहयोग गरेका, विद्रोही उठेका र तीनका प्रस्तावक समर्थक सबैलाई कारबाहि फिर्ता गरेर नयाँ जोस जाँगरका साथ चुनावी अभियानमा जानका लागी प्रस्ताव गर्ने नेता रामहरी खतिवडाले बताए । उनले भने, ‘पुराना असहयोगका कुरा विर्सीएर नयाँ सिराबाट जानका लागि सबैको कारबाहि फुकुवा गरेर जानु पर्ने बैठकमा मैले प्रस्ताव गर्छु ।’ नेपाली कांग्रेसले चैत्र २९ गते सम्मका लागि घर घर जाऔं कांग्रेस जिताउ अभियान लाइ निरन्तरता दिएको छ ।पहिलो चरणमा खटाइएको केन्द्रीय सदस्यहरु एकसराे गाउ अभियानमा पुगेर पार्टीको बैठकमा सहभागि हुन राजनधानी आइसकेका छन् ।
अभियानका क्रममा कांग्रेस प्रति नागरिकको उत्साह देशभर बढेको अभियानबाट फर्केका नेताहरुले बताए । चुनावी तालमेल गर्ने की एकल जाने भन्ने विषयमा पार्टीभित्र आन्तरिक समस्या देखिएको छ । यसलाई मध्यमार्गी बाटो अपनाएर जान सकिने नेताहरुको भनाइ छ । स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार पार्टीको जिल्ला कार्यसमितिलाई अधिकार दिएर जान सके विवाद कम हुने र स्थानीय आवश्यकता अनुसार गठबन्धन हुने नेताहरुले जोड दिएका छन् । ‘महानगरपालिकाको हकमा पार्टी केन्द्रले निर्णय निर्णय गर्ने गरी सहमति हुन सक्छ’, एक नेताले बताए ।
