काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७५ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बल्लबल्ल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए ।‘गठबन्धन नहुँदा मैले नै बल्लबल्ल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’
विगतमा माओवादीले आफूलाई समेत गोली हानेकै प्रशंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नु पर्ने बताए । उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्यो नि ।’
