काठमाडाैं,१४ चैत्र । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार नेपाल प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उनले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा नहुने बताएका हुन् ।
‘सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत छ । उनले भने, ‘ माओवादी केन्द्र र एकीकृत समाजवादीको बहुमत भएपनि सरकारमा आफूहरू अटाउन सकेको छैन् ।’ हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उनले थपे , ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनु पथ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’
सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म गठबन्धनका विषयमा केही छलफल वा वार्ता नभएको उनले बताए । ‘गठबन्धन गरौं भनेर हामी कसको दैलोमा जादैनौं,’ बलायरले भने, ‘त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं ।’
बलायरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकाले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए। प्रचण्ड र माधवजीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा आगो नलगाउउने उनले प्रष्ट पारे । कांग्रेसले मजबुत बनाएको देशको ढुकुटी कम्युनिष्टले रित्याएको बताउँदै उनले कम्युनिष्टले देशलाई तहसनहस बनाएको आरोप लगाए।
