स्वतन्त्र उम्मेदवार महानगरको नेतृत्वमा पुग्न कति सहज ?

स्वतन्त्र उम्मेदवार महानगरको नेतृत्वमा पुग्न कति सहज ?


  • 10.4K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    स्वतन्त्र उम्मेदवार महानगरको नेतृत्वमा पुग्न कति सहज ?

    काठमाडौं, १४ चैत्र । स्थानीय  तहको निर्वाचन नजिकीएसँगै काठमाडौं महानगरको मेयरका लागि  स्वतन्त्र उम्मेदवारको दाबी गर्ने संख्या समेत बढ्दै गएको छ। महानगरमा विगत देखि नै दलगत व्यक्तिहरुले नेतृत्व गर्दै आएका छन्। दलीय रुपमा मतदाता विभाजन भएको हाम्रो समाजमा स्वतन्त्र उम्मेदवारले पनि दाबी प्रस्तुत गर्न थालेका छन्। काठमाडौं महानगरको मेयर पदमा र्‍यापर बालेन शाह तथा पूर्व मिस नेवाः सुनिता डंगोलले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्।

    images

    पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो क्षमता, ज्ञान र सिपलाई अधिकतम प्रयोग गर्दै काठमाडौं शहर बनाउनको निम्ति काठमाडौंको मेयरमा दाबी गरेको बताएकी छन्। आफू जन्मेको शहरलाई आफ्नो सम्पूर्ण क्षेमतालगाएर बनाउने इच्छा भएको कारणले काठमाडौं मेयरमा पुगेर काठमाडौंलाई सुन्दर काठमाडौं बनाउने योजना रहेको उनको भनाइ छ। देशलाई समृद्ध र विकासित बनाउन युवाहरुको आवश्यक भएकाले आफ्नो जोस, जाँगर र शक्तिलाई देखाउका लागि स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा उठ्न लागेको उनले बताइन्।  काठमाडौं नगरलाई सांस्कृतिक नगर र सुन्दर राजधानी बनाउने योजना रहेकोले उक्त योजनालाई कार्यान्वयन गर्न आफू चुनावी मैदानमा आउन लागेको डंगोलले बताइन।

    उनले भनिन्, ‘फोहोरलाई उर्जाको रुपमा विकास गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, पर्यटनमा आकर्षण बढाउने योजना म सँग छ।’ त्यसैले चुनावको आन्तरिक तयारीमा लागिसकेको छु।’ सस्तो लोकप्रियताको लागि आफूले मेयरमा उठ्ने दाबी नगरेको उनले प्रष्ट पारिन।

    यस्तै र्‍यापर बालेन शाहले यस अघि नै आफू काठमाडौं महानगरको मेयरमा उठ्ने बताइसकेका छन्।  उनी तिब्र रुपमा चुनावी तयारीलाई लागिसकेको बताउँछन्। काठमाडौंको मेयरमा उठ्ने दाबी गरेका उनी हाल चुनावलाई लक्षित गरेर भेटघाट, कार्यक्रम, योजनाको प्रचारप्रसार गरिरहेका छन्। स्थानीय तह भनेको सेवा दिने ठाउँ भएको कारण यसमा सकेसम्म स्वतन्त्र उम्मेदवार आउनुपर्छ भन्ने मान्नेता बोकेका उनी काठमाडौं महानगरको मेयरमा भने आफै अगाडी सर्ने निणर्य गरेका हुन्।

    ‘हामीले निर्वाचनको लागि भनेर टोलहरुमा, कलेजहरुमा र सामाजिक सञ्जाल मार्फत विशेष गरी युवाहरुलाई जानकारी गराइ रहेका छौं।’, उनले भने ‘स्थानीय तहहरु राजनीति गर्ने ठाउँ होइनन्। यो सेवा दिने ठाउँ हो। हामीले राजनीतिक दलको व्यक्ति नेतृत्वमा आउँदाको र स्वतन्त्र व्यक्ति नेतृत्वमा आउँदाको भिन्नता बुझाई रहेका छौं।’ हालसम्म काठमाडौंले विकल्प नपाएको हुँदा बाध्यताले तीनै पुराना पार्टीहरुलाई भोट हाल्न पर्ने अवस्था थियो अब आफूले विकल्प दिएको उनको भनाइ छ।

    देशका प्रमुख राजनीतिक दल देखि पछिल्लो समयमा केही स्वतन्त्र उम्मेदवार समेत चर्चामा आउन थालेका छन्। काठमाडौं महानगरको मेयरमा नेपाली कांग्रेस, एमाले, माओवादी पार्टीहरुबाट उम्मेदवारी प्रस्तुत गर्नेको संख्या धेरै भएकाले यी पार्टीहरुलाई आन्तरिक व्यवस्थापनमा कठिन भएको छ। कांग्रेसबाट मात्र आधा दर्जन जिल्ला नेताहरु काठमाडौं महानगरको मुल नेतृत्व सम्हाल्न आकांक्षी देखिएका छन्। अन्य एमाले, माओवादी पार्टीहरुमा पनि झण्डै यही हाराहारीको संख्याले टिकट पाउने आशा राखेका छन्।

    कठिन छ स्वतन्त्रलाई  

    राजनैतिक विश्लेषक जैनेन्द्र जीवनले स्थानीय तहको नेतृत्वमा दलगत व्यक्तिहरु आउनुभन्दा स्वतन्त्र व्यक्ति आउनु राम्रो भएतापनि दलहरुको संगठन, कार्यकर्ता हरेक कुरा बलियो हुने भएकाले स्वतन्त्र व्यक्ति आउन कठिन हुने बताएका छन्। काठमाडौं महानगरको मेयरमा दाबी गरेका बालेन, सुनिता जस्ता व्यक्तिहरु सामाजिक सञ्जाल र केही व्यक्तिहरुमाझ लोकप्रिय देखिएको भएतापनि वास्तविकतामा स्वतन्त्र व्यक्ति काठमाडौं महानगरको मुख्य नेतृत्वमा आउन कठिन भएको उनको भनाइ छ।

    ‘स्वतन्त्र व्यक्तिको भन्दा दलबाट उठ्ने उम्मेदवारको चुनावमा प्रभाव पार्ने क्षमता, श्रोतहरु बढी हुन्छन्।’, उनले भने ‘स्वतन्त्र उम्मेदवारलाई मात्र होइन, काठमाडौं महानगर जस्तो ठूलो दलको बलियो संगठन र संरचना भएको ठाउँमा साना दलहरुले पनि निर्वाचन जित्न र नेतृत्वमा आउन गाह्रो छ।’ उनका अनुसार सामाजिक सञ्जालमा चर्चा भएजस्तो र देखिएको जस्तो लोकप्रियता निर्वाचनमा देखिदैन। चुनावी तयारीमा लाग्न, नागरिकलाई आफ्नो योजना र क्षमतको बारेमा ज्ञात गराउन र मतदातालाई आकर्षित गर्न दलगत व्यक्तिहरुलाई जस्तो सहज स्वतन्त्रलाई नहुने उनको भनाइ छ।

    कार्यगत हिसावले पनि मेयरमा स्वतन्त्र व्यक्तिहरु आएपनि उप–मेयर, वडा अध्यक्ष र अन्य सदस्यहरु दलका नै आउने भएकोले काम गर्न पनि व्यवहारिक कठिन हुने उनले बताए। तर स्थानीय तहमा स्वतन्त्र व्यक्ति आएमा दलगत भुमरीमा नफसी सेवामुलक काममा लाग्ने भन्ने कुरा फिक्का भएको जैनेन्द्रको बुझाइ छ। ‘सामाजिक सञ्जालमा देखिएजस्तो र उनीहरुले व्याख्या गरे जस्ता स्वतन्त्र व्यक्तिलाई  नेतृत्वमा आउने सहज छैन्’, उनले भने। 


    पदम भुजेल
    लेखकबाट थप