खोटाङ, १० मंसिर । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित हुनु भएकाे छ । कांग्रेसको सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढी मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।
मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणामअनुसार विष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाउनु भएकाे हाे । पौडेल समूह निकट राईको सिंगो प्यानल नै विजयी भएको छ ।
नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्वसभापति एवं महासमिति सदस्य हुनुहुन्छ । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गर्नु भएका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति चुनिनु भएकाे थियाे ।
यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नु भएका राई २०७२ सालमा महासमिति सदस्य बन्नु भएकाे थियाे । कानुनमा स्नातक उहाँ ६ असार २०४९ देखि ५ वर्ष तत्कालीन जिल्ला विकास समिति खोटाङको सभापति बन्नु भएकाे थियाे ।
साहित्यमा उहाँ विष्णु आभूषणका रूपमा चिनिन्छन् । उहाँलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुनुहुन्छ ।
राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी हुनु भएकाे छ । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बन्नु भएकाे छ ।
यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
