स्थानीय निर्वाचन
दाङमा कुन दल कति बलियो ?

दाङमा कुन दल कति बलियो ?


  • 10.4K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    दाङमा कुन दल कति बलियो ?

    दाङ, १५ चैत्र । सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचन सम्पन्न गर्ने घोषणा गरेको छ । सोही बमोजिम निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कामकारवाही अगाडि बढाउँदै लगेको छ । अब स्थानीय निर्वाचनको तय भएको मिति आउन ४५ दिन मात्र बाँकी छ । निर्वाचन ४५ दिन मात्र बाँकी रहँदा सबै दलका आकांक्षीहरु जनमत आफ्नो पक्षमा लिन आन्तरिक तयारीमा जुटिसकेका छन् । आन्तरिक रुपमा चुनावी प्रचार प्रसारमा लागिसकेका छन् । 

    images

    यतिबेला वडा तहभन्दा पनि पालिका तहमा प्रमुखका आकांक्षीहरु खुलेरै अगाडि बढिरहेका छन् । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई कसरी लैजाने भन्ने निर्णय गरिसकेको छैन । सत्तारुढ दल नेपाली कांग्रेस एक्लाएक्लै नै निर्वाचनमा जाने मनसाय बोकेको छ भने नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका सत्तारुढ दलहरु चुनावी तालमेल गरेर निर्वाचनमा होमिन चाहेका छन् ।

    नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि अधिकांश स्थानमा निर्वाचन जित्न सकिने कुरामा विश्वस्त छ । उता माओवादी केन्द्र र नेकपा एस लगायतका दल चुनावी गठबन्धनबाट केही स्थान भागमा पार्न सकिने दाउमा रहेका छन् । यद्यपि कांग्रेसले निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा आज टुङ्गो लगाउँदै छ । एक्लै निर्वाचनमा जाँदा जित सुनिश्चित देखिएको काङ्ग्रेसका लागि एकल चुनावी यात्रा त्यति सजिलो भने देखिदैन । कांग्रेस एक्लै निर्वाचनमा होमिएको खण्डमा कम्युनिस्ट पार्टीबिचको एकतामा माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरुसँग चुनावी गठबन्धन गरेर आफ्नो विरासत बचाउने दाउँमा नेकपा एमाले रहेको छ । पर्ख र हेरको रणनीतिमा यतिबेला नेकपा एमाले रहेको चर्चा राजनीतिक वृत्तमा बाक्लिदै जान थालेको छ । कांग्रेसका लागि पनि एउटा राजनीतिक भय यही नै रहेको छ । एक्लै चुनावमा जाँदै गर्दा अन्य दलहरुको चुनावी गठबन्धनले आफूलाई अफ्ठ्यारो हुने महसुस कांग्रेसले गरेको छ ।

    २०७४ सालको स्थानीय निर्वाचनलाई विश्लेषण गर्ने हो भने पनि एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसले अधिकांश पालिका आफ्नो बलियो उपस्थिति राख्ने देखिन्छ । १४ औँ महाधिवेशनले कांग्रेसभित्र कायम गरेको एक ढिक्कापन नै कांग्रेसको जितको बलियो आधार हो । यसअघिको निर्वाचनमा टिकट वितरणका क्रममा प्रत्यासी आकांक्षीहरुलाई सन्तुष्ट बनाउनुभन्दा पनि चिढ्याउने काम नेतृत्वले गरेको हो । आसन्न स्थानीय निर्वाचनमा प्रत्यासी आकांक्षीलाई समेत सम्बोधन गर्ने गरी निर्विवाद टिकट वितरणको कार्यलाई सम्पन्न गराउन सकेको खण्डमा मात्र पनि कांग्रेसले धेरै मात्रामा चुनावी उपलब्धी प्राप्त गर्ने निश्चितप्रायः देखिन्छ ।

    त्यस्तै नेकपा एमालेमा आएको विभाजन पनि कांग्रेसका लागि चुनाव जित्नका लागि दोस्रो बलियो आधार रहेको देखिन्छ । यद्यपि दाङको सन्दर्भमा नेकपा एसले नेकपा एमालेलाई असर पार्न नसक्ने आँकलन र विश्लेषण भइरहेका छन् । मेटमणि चौधरी, हिराचन्द्र केसी लगायतका नेताहरु नेकपा एसमा रहँदा र बिमला खत्री वली माओवादी केन्द्रमा प्रवेश गर्दा नेकपा एमालेलाई केही असर जरुर नै पर्दछ । जसको फाइदा भनेको प्रत्यक्ष रुपमा काङ्ग्रेस र माओवादी केन्द्रलाई नै हुनेछ । नेकपा एससँग आशातीत कार्यकर्ता नरहेको चर्चाले पनि राजनीति वृत्तमा अर्धव्यासहरु खिच्ने काम गरिरहेको छ । स्वभाविक रुपमा के हो भने नेकपा एससँग नेकपा एमालेलाई जित्ने जनमत नभए पनि हराउन बल पु¥याउने जनमत भने अवश्य नै छ । यसको प्रत्यक्ष लाभ कांग्रेसले लिने देखिन्छ ।

    २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले दाङका १० स्थानीय पालिका मध्ये ६ स्थानीय पालिकामा विजय प्राप्त गरेको थियो । ३ स्थानीय पालिकामा कांग्रेस र १ स्थानीय पालिकामा माओवादी केन्द्रले विजय प्राप्त गरेका थिए । एमालेले जित हाँसिल गरेका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिका र लमही नगरपालिकामा कांग्रेस दोस्रो स्थानमा रहेको छ । त्यस्तै गढवा गाउँपालिकामा भने माओवादी दोस्रो स्थानमा रहेको छ । त्यस्तै कांग्रेसले विजय प्राप्त गरेका ३ पालिका मध्ये राजपुर र राप्ती गाउँपालिमा माओवादी दोस्रो स्थानमा रहेको छ भने शान्तिनगर गाउँपालिकामा एमाले दोस्रो स्थानमा रहेको छ । माओवादीले विजय गरेको बङ्गलाचुली गाउँपालिकामा कांग्रेस नै दोस्रो स्थानमा रहेको छ ।

    विगतको परिणामलाई विश्लेषण गर्ने हो भने पनि अब दाङका अधिकांश पालिकामा कांग्रेसले विजय प्राप्त गर्ने निश्चित देखिएको छ । त्यसो त सत्तारुढ दलले चुनावी गठबन्धन गर्ने हो भने दाङमा स्थानीय तहमा एमाले ‘क्लिन स्विप’ नहोला भन्न सकिदैन । सत्ता गठबन्धन दलहरु अहिले चुनावी तालमेल गरेर एमालेलाई ‘क्लिन स्विप’ बनाउने दाउमा पनि लागेका छन् । स्थानीय तहको असर नेकपा एमालेलाई प्रदेश र संघीय निर्वाचनमा समेत नपर्ला भन्न सकिदैन ।

    हेर्नुहोस् दाङको २०७४ को मत परिणाम

    १. गढवा गाउँपालिका– एमाले (३६७७), माओवादी (३३०४), कांग्रेस (३०३१)

    २. घोराही उपमहानगरपालिका– एमाले (२२०३०), कांग्रेस (१७४८४), माओवादी (१२०८२)

    ३. तुलसीपुर नगरपालिका– एमाले (२२८५७), कांग्रेस (१८९०३), माओवादी (८६९३)

    ४. दंगीशरण गाउँपालिका– एमाले (३१६१), कांग्रेस (२८४१), माओवादी (२४८५)

    ५. बंगालचुली गाउँपालिका– माओवादी (३३५२), कांग्रेस (२५१५), एमाले (१६३४)

    ६. बबई गाउँपालिका  – एमाले (४२७१), कांग्रेस (३९५९), माओवादी (२५४३)

    ७. राजपुर गाउँपालिका– कांग्रेस (२३९५), माओवादी (१८५८), एमाले (१७८१)

    ८. राप्ती गाउँपालिका– कांग्रेस (४७९७), माओवादी (३९४२), एमाले (३५५७)

    ९. लमही नगरपालिका– एमाले (५१५२), कांग्रेस (५०६९), माओवादी (४०८१)

    १०. शान्तिनगर नगरपालिका– कांग्रेस (३८५२), एमाले (२९२४), माओवादी (२८३७)


    आदिम केसी
    लेखकबाट थप