काठमाडौं, १५ चैत्र । ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन्। २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको कार्यकाल सकिने चरणमा छ। यो सँगै दोस्रो कार्यकालका लागि आगामी वैशाख ३० गते निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनबाट नेतृत्वमा पुग्नका लागि विभिन्न दलका नेताहरु टिकट प्राप्तिको दौडधुपमा छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसकोतर्फबाट प्रमुख र उप–प्रमुख गरी करिब दर्जन नेताहरुले दाबी गरेका छन्। गाउँपालिका प्रमुखमा कमल तामाङ, भिम कुमार गौतम, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, दुर्गा कुमारी तामाङ लगायतले दाबी गरेका छन् । यस्तै उप–प्रमुखमा अर्चना लुईटेल, शान्ता मगर, सुनिता अधिकारी, लालकुमारी धमालालगायतको नाम चर्चामा छ ।
पालिका प्रमुखको दाबेदारी
कमल तामाङ
नेपाली कांग्रेसका उप सभापति कमल तामाङ वैदेशिक रोजगार विभागका केन्द्रीय अध्यक्ष हुन् । उनी आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको दाबेदार हुन् । स्थानीय तहको निर्वाचनका लागि तामाङ गाउँ अभियानमा जुटी सकेको बताउँछन् । ‘हामी नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयअनुसार घरघर जाउँ, कांग्रेस जिताउ भन्ने अभियान लिएर गाउँगाउँ र बस्तीबस्तीमा पुगिरहेका छौं’, उनले भने, ‘आगामी स्थानीय निर्वाचन नजिकीदै गर्दा हामीले पार्टीलाई जिताउने ढंगबाट तयारी गरिरहेका छौं । सुनकोशी गाउँपालिकाको प्रमुखमा दाबेदारी प्रस्तुत गर्ने अरुपनि हुनुहुन्छ होला । म पनि पालिकाको प्रमुखको दाबेदार हु ।’
नेपाली कांग्रेस जिल्ला कार्यसमितीको उपसभापति भएको र लामो समयदेखि पार्टीमा रहेर गाउँको काममा लागिपरेको हुनाले मलाई पार्टीले टिकट दिनुपर्छ भन्ने आफ्नो मत रहेको उनले बताए । पार्टीलाई जिताउने र संस्थागत सदृढीकरणका लागि स्थानीय तह भनेको सेवा दिने ठाउँ भएकाले पालिकाको कृषि उत्पादनको बजारीकरणको व्यवस्था, शैक्षिक गुणस्तर सुधार गर्ने, पर्यटकीय क्षेत्रको विकास, युवा स्वरोजगारको योजना, गाउँपालिकाको समग्र भौतिक विकाससँगै मानवीय चेतना, सुशासन र पालिकाको समृद्धिका योजना आफूसँग भएको उनले बताए । ‘त्यस कारण पनि पालिका प्रमुखमा मेरो दाबेदारी हो’ उनले भने ।
भिम कुमार गौतम
मेरो जिवन नै राजनीतिमा बितेको छ। २०५८ बाट नेविसंघको राजनीति सुरु गरेको र त्यहाँदेखि निरन्तर नेविसंघका विभिन्न जिम्मेवारीमा रही संगठनको काम गर्दै आएको हुँदा मेरो गाउँपालिका अध्यक्ष हुने सम्पूर्ण योग्यताहरु पुगिसकेका छन्। उनले भने,‘ लोकतन्त्र र समाजवादको नारा बोकेर पार्टी संगठनका नाममा लागेको २० वर्ष भैसक्यो, उर्जाशिल जिवनलाई कांग्रेस पार्टीका लागि समर्पण गरेको छु ।’
आफ्नो महत्वपूर्ण समय कांग्रेसको हितमा खर्च गरेकाले यस पटक पार्टीले जिम्मेवारी दिनुपर्ने उनको तर्क छ। ‘मैले यो पटक पार्टीबाट पालिका प्रमुखको टिकट पाउँछु’, गौतमले भने, ‘कांग्रेस पार्टीले मेरो उचित मुल्यांकन गर्छ भन्ने कुरामा म ढुक्क छु।’ पालिकाको समग्र विकास, सुशासन र सुसंस्कृतिक समाज निर्माण सँगै स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकास विस्तार गर्दै स्वरोजगारका कुराहरुलाई प्राथमिकताका साथ अघि बढाउने योजनासहित गाउँपालिकाको अध्यक्षको दाबी गरेको उनले तेस्रो आँखालाई बताए । पार्टीले उम्मेदवार बनाएको खण्डमा आफ्नो राजनीतिक अनुभव, क्षमता र लगनशिलतालाई भरपुर उपयोग गरेर पालिकालाई व्यवस्थित विकासको प्रत्याभूति दिलाउने उनको दाबी छ।
भोजकुमार श्रेष्ठ
कांग्रेस जिल्ला सह सचिव भोजकुमार श्रेष्ठले पनि आफू गाउँपालिका अध्यक्ष हुने इच्छा व्यक्त गरेका छन्। ‘सुनकोशी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने मेरो मुख्य योजना रहेको छ’, श्रेष्ठले भने, ‘अन्य धेरै साथीहरुको पनि दाबी रहेको छ, तर मैले पार्टीमा गरेको संघर्ष र अनुभवको आधारमा पार्टीले टिकट दिनुपर्छ भन्ने मेरो बलियो दाबी रहेको छ।’ अहिले केन्द्रीय निर्देशनअनुसार निर्वाचनको तयारीमा अगाडि बढेको उनले बताए।
आफ्नो जितको लागि निर्वाचनको तयारी स्वारुप स्थानीयस्तरमा भेटघाटका कार्यक्रम गरिरहेकोसमेत श्रेष्ठले जानकारी दिए। पालिकाको समस्याहरु पहिचान गरेर पालिकाको सेवा र विकासमा कुनै कसर बाँकी नराखेर लाग्ने आफ्नो प्रतिवद्धता र आगामी योजना रहेको श्रेष्ठले तेस्रो आँखासँग बताए ।
यी बाहेक कांग्रेसबाटै पालिका प्रमुखमा दुर्गा कुमारी तामाङले यस अघि नै अध्यक्षको दाबी गरेको बताएकी छन्। भने महाधिवेशन प्रतिनिधि कुमार श्रेष्ठ पनि पाएसम्म अध्यक्ष नछाड्ने लाइनमा छन्। दुर्गा तामाङ वर्तमान पालिका उप–प्रमुख हुन्। अध्यक्षकै चर्चामा आएका कुमार श्रेष्ठ सफल व्यवसायीसमेत हुन्।
उप–प्रमुखको चर्चा
अर्चना लुइटेल
नेविसंघकी नेता अर्चना लुइटेल आगामी निर्वाचनमा सुनकोशी गाउँपालिका अध्यक्षको प्रमुख दाबेदार हुन् । उनी विद्यार्थी राजनीतिबाट खारिदै पार्टीको १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिसमेत हुन् । सुनकोशी गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउने खाका लिएर अघि बढेकाले गाउँपालिकाका नागरिकको ओठमा मुस्कान ल्याउन आफ्नो उम्मेदवारी कायम रहने लुइटेलले बताइन्। उनले तेस्रो आँखासँग भनिन्,‘ मैले गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाउने लक्ष्य राखेको छु’, यदी पार्टीले जिम्मेवारी दिएको खण्डमा प्रदेश र संघसँगको समन्वयमा धेरै योजनाहरु भित्र्याएर गाउँपालिकाको चौतर्फि विकासमा लाग्ने छु ।’
अहिलेसम्म कुनै एनजीओ, आएनजिओमा नलागि नितान्त पार्टी र जनताको लागि काम गर्दै आएको उनले दाबी गरिन्। पार्टीप्रतिको लगनशिलतासँगै गाउँपालिकाको अवस्था र आवश्यकता पहिचान गरिसकेको उनले बताइन्। नागरिकको आवश्यकता र पालिकाको भुगोल सुहाउँदो विकास गर्ने अठोट लिएकोले, भुगोल, क्षेत्र र जनघनत्वको आधारमासमेत पार्टीले आफूलाई टिकट उपलब्ध गराउनुपर्ने उनको जिकीर छ ।
शान्ता तामाङ
गाउँपालिकाको उप प्रमुखको दाबी गर्दै आएकी शान्ता तामाङ जिल्ला स्तरिय आमा समूहकी अध्यक्ष हुन्। उनी लामो समय महिलाको क्षेत्रमा क्रियाशिल रहेको र पार्टीका विभिन्न संरचनामा बसेर निरन्तर पार्टीकै काममा लागिरहेकाले आफ्नो दाबी स्वभाविक रहेको बताउँछिन्। सुनकोशी गाउँपालिकामा उप प्रमुखको दर्बिलो उम्मेदवारका रुपमा तामाङले आफूलाई उभ्याएकी छन्। पार्टीले टिकट दिएको खण्डमा भुगोलमै बसेर अरुको भन्दा बढी काम गरेकाले बढी मत ल्याउने उनले दाबी गरिन्। वर्गिय, जातिय, भेगीयसँगै राजनीतिक लगानीका हिसावले पनि पार्टीले यस पटक जिम्मेवारी दिने कुरामा आशा गरेको उनले बताइन् ।
सुनिता अधिकारी
यो पटकको स्थानीय निर्वाचमा मेरो दाबेदारी सुनकोशी गाउँपालिकाको उप–प्रमुखमा रहेको छ र मैले त्यहीअनुसार तयारी गरिरहेको छु । सुनकोशी गाउँपालिकामा धेरै दाबेदार हुनुहुन्छ । सबै एक सय एक हुनुहुन्छ । तर म सँग अरु सँग आउने भन्दा भोटको संख्या केही मात्रामा भएपनि बढी छ । अन्य पार्टीका मानिसलाई आकर्षण गर्न सक्ने क्षमता र अनुभव म सँग छ । यदि म पालिकाको उप–प्रमुखमा निर्वाचित भएर आए भने वैदेशीक रोजगारीबाट फर्कीएकालाई यहीँ दिगो विकासमा लगाउने, शिक्षा, बालबालिका, कृषि क्षेत्रमा सुधार गर्ने कामहरु गर्छु । विशेषत प्रत्यक वडाको आवश्यकताको आधारमा त्यसलाई बुझेर विकास गर्न म लाग्छु । उनी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।
लाल कुमारी धमाला
पार्टी राजनीतिमा क्रियाशिल महिला नेता लालकुमारी धमला गाउँपालिकाकी पूर्व पार्टी सचिव हुन् । उनले यस पटक गाउँपालिका उप प्रमुख भएर जनप्रतिनिधिको जिम्मेवारी सम्हाले इच्छा राखेकी छन् । ‘कसलाई टिकट दिन्छ, कस्तो समिकरण बन्छ त्यो टुंगो लागिसकेको छैन’, उनले भनिन्, ‘हाम्रो मुख्य उद्देश्य भनेको पार्टीलाई जिताउने नै हो । मैले टिकट पाए पनि वा मेरो ठाउँमा अरुले टिकट पाए पनि हाम्रो प्राथमिकता भनेको कांग्रेसलाई जिताउने हुनेछ ।’
अहिले केन्द्रले र जिल्लाले खटाएअनुसार पार्टीको अभियानमा लागेको उनले बताइन् । वडा समितिलाई थप चलायमान बनाउने काम बढी केन्द्रित भएको उनको भनाइ छ। ‘कांग्रेसले जित्नुपर्छ भन्ने मुख्य मान्यता हो’, धमलाले थपिन, ‘अब पार्टीले के गर्छ, कस्तो समिकरण बन्छ त्यो पनि केही समयमा टुंगो लाग्ला। मलाई यो पटक अवसर दिनुपर्छ भन्ने मेरो माग निरन्तर रुपमा रहिरहन्छ ।’
पदम भुजेल
