काठमाडौं, मंसिर १० । चितवनको नारायणी नदी किनारमा भव्य समारोहबीच नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सम्पन्न गर्यो । देश र विदेशबाट आएका पाहुनाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेता ओलीप्रतिको वितृष्णा भुलाउदै प्रसशामा उत्रिए । तर, त्यो भव्य समारोहमा एमालेको आन्तरिक किचलो र विभाजनको गन्ध पनि प्रष्ट देखियो ।
भव्य समारोहमा एमालेबाट अलग भएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेता थिएनन् । कार्यक्रममा आएका अधिकांश नेता / कार्यकर्तालाई पार्टी विभाजनले केही खिन्न बनाएको देखिन्थ्यो । चितवनमा रहेका हाम्रा सहकर्मीले केही प्रतिनिधिसँग कुराकानी गर्दा पार्टी विभाजन सबैभन्दा ठूलो क्षति भएको सुनाए ।
उद्घाटन सत्र त भव्यरूपमा सम्पन्न भयो तर एमालेमा नेतृत्वको वहश सुरुभएको छ । औपचारिकरूपमा एमालेका उपाध्यक्ष डा. भीम रावलले मात्रै उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उद्घाटन सत्र सकिए लगत्तै अहिले नेताहरू आन्तरिक छलफलमा जुटिसकेका छन् । एकथरी नेताले १० औं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने अपेक्षा गरेका छन् । त्यसका लागि उनी काठमाडौं हुँदैदेखि सहमतिको प्रयासमा थिए ।
पन्ध्र सदस्यीय पदाधिकारीसहित २ सय ३५ केन्द्रीय समितिमा अहिले धेरै आकांक्षी देखिएपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेता व्यवस्थामा ठूलो सकस हुने देखिएको छ । पार्टीमा रहेका नेताहरूको व्यवस्थापनको पाटो छुट्टै छ भने ओली प्रवृत्तिबाट अलग हुनखोजेका नेताहरूको व्यवस्थापन र माओवादी केन्द्रबाट प्रवेश गरेका नेताहरूको पदीय हैसिय अहिले ठूलो वहशको विषय बनेको नेताहरूको भनाइ छ ।
अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममै महाधिवेशनबाट चयन भएर आउनेलाई मात्रै व्यवस्थापन गर्न सकिने प्रक्रिया दिइसक्नुभएको छ । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा धेरैको आँखा परेको छ । महासचिवमा विष्णु पौडेल, शङ्कर पोखरेललगायतका दोस्रो तहका नेताको दाबी छ । पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुवास नेम्वाङ, सुरेन्द्र पाण्डेको व्यवस्थापन उत्तिकै चुनौति छ । पुराना नेताहरू युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, भीम आचार्यलगायतको व्यवस्थापन थप चुनौतीपूर्ण छ ।
माधवकुमार नेपाललाई त्यागेर आएका योगेश भट्टराईलगायतका नेताहरूको स्थान कहाँ हुने ? गोकर्ण विष्ट जस्ता नेताहरू कहाँ रहने ? दासौं महाधिवेशन सम्पन्न गर्न सिंगो जिम्मेवारी लिएका पूर्वमाओवादी नेता रामबहादुर थापाको व्यवस्थान ओलीका लागि झन टाउको दुखाइको विषय बनेको छ । झट्ट हेर्दा आन्तरिक सबै मिलेको जस्तो देखिए पनि एमालेको १० औं महाधिवेशनले पार्टीभित्रको एकताको सन्देश दिनेमा विश्वास गर्न सकिरहेको छैन ।
अध्यक्ष ओलीलाई महिला नेतृहरूको व्यवस्थापन थप चुनौति बन्ने देखिएको छ । पहिलो पटक संविधानबमोजिम पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गर्ने भएपछि युवा महिलाले सामूहिक प्रवेश पाउने सम्भावना देखिएको छ ।
दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीमा कम्तीमा ३३ प्रतिशत अर्थात ७५ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । हाल एमालेको केन्द्रीय कमिटीमा १ सय ९८ सदस्य छन् तीमध्ये २८ जनामात्र महिला छन् । यस हिसाबले १० औं राष्ट्रिय महाधिवेशनबाट हालका महिला नेता कायमै रहँदा पनि करिब ५० जना नयाँ अनुहार केन्द्रीय कमिटीमा आउने सम्भावना बढेर गएको छ ।
पदाधिकारीमै राधा ज्ञवाली, डा.विन्दा पाण्डे, पद्मा अर्याल, थममाया थापालगायतका महिलाको दाबी छ । अनेरास्ववियुकी पूर्व–अध्यक्ष नविना लामा यसपटक एमाले केन्द्रीय सदस्य बन्ने चर्चित युवा नेता हुनुहुन्छ ।
राष्ट्रिय युवा संघबाट महाधिवेशन प्रतिनिधि निर्वाचित क्रान्ति बुर्लाकोटी एमाले केन्द्रीय कमिटीमा आउने प्रयासमा हुनुहुन्छ । जुम्लाकी मेनका पछाई, चितवनकी सुनिता अधिकारी, कञ्चनकपुरकी कमला बोहोरा पनि आकांक्षी हुनुहुन्छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल केन्द्रीय सदस्यको दावेदार हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, उषाकिरण तिम्सिना, प्रतिनिधिसभा सदस्य तथा युवा नेता शान्ति पाख्रिन, चर्चित अनुहार राष्ट्रियसभा सदस्य कोमल वलीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
त्यस्तै, महिला अधिकारकर्मी शर्मिला कार्की, निरु दर्लामी कुँवर, जन–सांस्कृतिक महासंघमा समेत रहेकी गायिका तथा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी, किसान महासंघकी जिवन्ती पौडेललगायतका युवा महिला केन्द्रीय सदस्यका दाबेदार हुन् ।
अहिले नेतृत्व व्यवस्थापनका विषयमा नेताहरू आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ । भोलि उम्मेवारी दर्ता भएकाले रातिसम्म नेतृत्वको टुंगो लगाउने तयारीमा जुट्नुभएको छ ।
