काठमाडाैं,१६ चैत्र । नेपाली कांग्रेसले पार्टी महाधिवेशनमा सबै भन्दा ठूलो झगडा हुने क्रियाशिल सदस्यता वितरणलाई ब्यवस्थित गर्न क्रियाशिल सदस्यता खुलागरेको छ । मंगलबार पार्टीको बैठकबाट क्रियाशिल वितरण गर्न दिने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रकाशशरण महतले विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिए ।
क्रियाशील सदस्य पार्टीभित्र नेतृत्व चयन गर्ने मतदाता हुन् । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण गर्ने गर्दै आएको थियो । तर, यसपटक भने महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको छ । यसले पार्टी कार्यकर्तालाई निरन्तर सक्रीय गराइराख्न सहयोग पुग्नेछ । मंगलबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन समेतलाई लक्षित गर्दै सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएकोछ ।
१४ औँ महाधिवेशनअघि सदस्यताको विवादकै कारण कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन नै गर्न सकेको थिएन । विवादका कारण सदस्यता नवीकरण र वितरण प्रभावित हुने भएपछि रमेश लेखकको संयोजकत्वमा छुट्टै छानविन समिति गठन गरी महिनौँ लगाएर छानबिनको काम गरेको थियो । छानबिन समितिको काममा समेत न्यायपूर्ण नभएको भन्दै जिल्लाका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा महिनौँसम्म अनसन गरेका थिए ।
सदस्यताको विवादकै कारण कांग्रेसले पटक–पटक महाधिवेशनको मिति सा¥यो, केन्द्रीय महाधिवेशनअघि नै हुनुपर्ने जिल्ला अधिवेशन कतिपय जिल्लाले महाधिवेशन पछि मात्रै गरे । महाधिवेशनको मुखमा मात्रै सदस्यता वितरण र नवीकरण गर्ने पूरानो अभ्यासलाई तोड्ने प्रयासस्वरुप विधानको व्यवस्थाबमोजिम सदस्यता खुला गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले बताए । १३ औँ महाधिवेशनमा कांग्रेसले ४ लाख ७० हजार क्रियाशील सदस्य बनाएको थियो । त्यसलाई दोब्बर गरेर यसपटक १४ औँ महाधिवेशनमा ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य पु¥याइएको छ ।
क्रियाशील सदस्य वडा तहमा कांग्रेसको नेतृत्व चयनका मतदाता हुन् । ती नै क्रियाशील सदस्यले चुनेका प्रतिनिधिले स्थानीय तहदेखि प्रदेश र केन्द्रीय समितिसम्म छ तहमा पार्टीको नेतृत्व चयन गर्ने व्यवस्था छ । कांग्रेसले १४ औँ महाधिवेशनमा ४ लाख १० हजार ६८४ जना पूराना सदस्यको नवीकरण गरेको थियो भने ४ लाख २९ हजार ४२२ जना नयाँ सदस्य थपिएका थिए । कांग्रेस विधानको धारा ४ ले कांग्रेसका दुई खाले सदस्य हुने व्यवस्था गरेको छ— पहिलो साधारण सदस्य र अर्को क्रियाशील सदस्य ।
१८ वर्ष उमेर भएका, कांग्रेसको आदर्श, उद्देश्य र विधानमा आस्था भएको व्यक्तिलाई साधारण सदस्यता दिने व्यवस्था छ । साधारण सदस्यता प्राप्त गरेको एक वर्ष पूरा भएपछि त्यस्तो व्यक्तिलाई तोकिएको फारम भराई शुल्क लिएर क्रियाशील सदस्यता दिने व्यवस्था छ । विधानबमोजिम सदस्य लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, विगतमा कांग्रेसले एउटा महाधिवेशन सकिएपछि एकैपटक अर्को महाधिवेशनमा मात्रै सदस्यता अद्यावधिक गर्दै आएको थियो ।
