सौराहा, ११ मंसिर
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गर्नुभएकाे छ ।
महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताउनुभयाे ।
‘अध्यक्षसहित सबै पदमा सर्वसम्मति हुन्छ’, उहाँले भन्नुभयाे, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।’
पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयाे ।
रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त हुनुहुन्छ । अध्यक्ष केपी ओली भने आफू बसेको रिसोर्टमा निकटका नेताहरूसँग छलफलमा जुट्नु भएकाे छ ।
