• ट्रेण्डिङ्ग :
विश्वविद्यालय शिक्षा सुधार: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

विश्वविद्यालय शिक्षा सुधार: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन


  • 2.1K
    SHARES
    • आषाढ १७, २०८३ बुधबार
    • ४ महिना अघि
    • 3.3K Views

    विश्वविद्यालय शिक्षा सुधार: राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

    काठमाडौँ, असार १७ गते । उच्च शिक्षाका शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याइएको छ।

    images

    विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेन्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको हो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वस्वीकृत भई कार्यान्वयनमा रहेको 'उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन, २०८०' लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। साथै, आवश्यक कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयमा परिपत्र गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।

    एकीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएसँगै विश्वविद्यालय शिक्षा सुधारमा ठूलो फड्को मारिने आयोगको विश्वास छ।

    शासकीय सुधारसम्बन्धी सरकारको सयदिने कार्यसूचीको बुँदा नम्बर ८७ मा विश्वविद्यालयहरूबाट सञ्चालन गरिने स्नातक र स्नातकोत्तर तहको परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डर अनुसार सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो। त्यसैलाई मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको हो।

    विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ को उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिम यो क्यालेन्डर कार्यान्वयन गरिने छ। साथै, आवश्यक विषय अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम समावेश गरी आयोगमार्फत विश्वविद्यालयहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइने छ।

    आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्यापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधि निर्धारित समयतालिका अनुसार सञ्चालन हुने छन्।

    यसअघि आयोगले तयार गरेको शैक्षिक क्यालेन्डर २०८० साल भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो। बदलिँदो शैक्षिक आवश्यकता र समयानुकूल सुधार गर्न आयोगले शैक्षिक क्यालेन्डर परिमार्जन समिति गठन गरेको थियो।

    समितिको २०८३ जेठ १२ गतेको निर्णय तथा सिफारिसका आधारमा क्यालेन्डरमा आवश्यक संशोधन गरी मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको थियो। 


    तेस्रो आँखा