काठमाडौँ, असार १८ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक समारोहबिच विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले नवनियुक्त अध्यक्ष थापालाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो । यसैगरी, शिक्षा मन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
शपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्तिविकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा जोड दिने बताउनुभयो ।
अध्यक्ष थापाले आफ्नो सेवा अवधिमा त्रिवि सेवा आयोग र समग्र विश्वविद्यालयको उन्नति गर्दै विगतको गौरवशाली इतिहासको मनन गरी २१ औँ शताब्दीका नयाँ चुनौतीको सामना गर्नका लागि विश्वविद्यालयको श्रीवृद्धिमा अहोरात्र खटिने विश्वास दिलाउनुभयो । उहाँले देशको प्रतिष्ठित त्रिवि सेवा आयोगको अध्यक्षजस्तो गरिमामय पदमा आफूलाई जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति आभारसमेत प्रकट गर्नुभयो । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रीको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो । सिफारिस समितिले गत जेठ महिनामा खुला आवेदन आह्वान गरेको थियो ।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर योगदान दिनुभएको छ । उहाँ सहरी विकास, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालयमा सचिवका रूपमा कार्यरत रहनुभएको थियो । उहाँले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति जस्ता महत्त्वपूर्ण सरकारी नीति निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
गोरखा भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिनुभएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन कार्यमा आबद्ध हुनुहुन्छ ।
