तनहुँ, असार २१ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जनप्रतिनिधि वा पदाधिकारी जो–कोहीले जनताको काममा लापरबाही गरे कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मन्त्री लम्सालले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने विषयमा जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह गर्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याइने दाबी गर्नुभयो । सरकार जनताको सेवा, सुशासन र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सार्वजनिक पदमा रहेका व्यक्तिले जनविश्वासअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री लम्सालले भन्नुभयो, “यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।’’
प्रदेश सरकारका मन्त्रीहरूको हकमा पनि सोही नियम लागू हुने उल्लेख गर्दै उहाँले जनअपेक्षाविपरीत काम गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । वर्तमान सरकारले गफभन्दा पनि कामलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री लम्सालले देशमा सुशासन कायम गर्न र बेथिति अन्त्यका लागि नागरिकस्तर र पार्टी कार्यकर्ताबाट रचनात्मक सहयोग र सूचनाको अपेक्षा गरिएको समेत बताउनुभयो ।
