• ट्रेण्डिङ्ग :
पश्चिम नेपालको विद्युत् आपूर्ति सुधार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

पश्चिम नेपालको विद्युत् आपूर्ति सुधार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन


  • 2.1K
    SHARES
    • आषाढ २२, २०८३ सोमबार
    • ३ महिना अघि
    • 3.3K Views

    पश्चिम नेपालको विद्युत् आपूर्ति सुधार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    नेपालगन्ज, असार २२\ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वितरण र देखिएका समस्याबारे जानकारी लिनुका साथै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ ।

    images

    पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगन्ज पुग्नुभएका मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर विद्युत् आपूर्ति तथा वितरणको अवस्थाबारे विस्तृत जानकारी लिनुका साथै अन्तरक्रिया गर्नुभएको हो ।

    डिभिजन कार्यालय प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा नेपालगन्ज वितरण केन्द्र प्रमुखबाट जानकारी लिएपछि उहाँले यस क्षेत्रमा धेरै पुराना संरचनामार्फत विद्युत् वितरण भइरहेका कारण विद्युत् आपूर्तिमा पटक–पटक समस्या दोहोरिने गरेको पाइएको बताउँदै आगामी आर्थिक वर्षमै वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री श्रेष्ठले वितरण प्रणालीमा लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको उल्लेख गर्दै सातौँ विद्युतीकरण आयोजना अन्तर्गत सन् १९९० पछि वितरण सञ्जालमा उल्लेखनीय सुधार हुन नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “विद्युत् माग वार्षिक रूपमा करिब १५ प्रतिशतका दरले बढिरहेकाले पुरानो संरचनाबाट बढ्दो लोड व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। कोहलपुर राष्ट्रिय ग्रिड तथा टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणाली, स्विचिङ प्रणालीका चुनौती, नजिकै उत्पादन केन्द्रको अभावका कारण देखिने न्यून भोल्टेज तथा निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन समयमै सञ्चालनमा आउन नसक्दा विद्युत् आपूर्तिको गुणस्तरमा प्रत्यक्ष असर परेको रहेछ।”

    फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा पुराना वितरण संरचनाका कारण उपभोक्ताले अपेक्षा गरेअनुसारको सेवा दिन नसकिएको उहाँले बताउनुभयो ।

    अन्तरक्रिया तथा छलफलका क्रममा मन्त्री श्रेष्ठले आगामी गर्मीयामअघि निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिँदै नेपालगन्जमा आवश्यक क्षमताका थप ट्रान्सफर्मर उपलब्ध गराइने जानकारी दिनुभयो ।

    उहाँले वितरण सञ्जालको क्षमता अभिवृद्धि, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर विस्तार तथा लोड व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मनोज यादव, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख दीपक गौतम तथा नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विद्युत् आपूर्ति र वितरणको वर्तमान अवस्था तथा देखिएका समस्याबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

    सोही कार्यक्रममा स्थानीयवासीले पनि विद्युत् वितरणमा देखिएका समस्याबारे मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।


    तेस्रो आँखा