प्रधानमन्त्री देउवाको स्वागतमा पर्खदै भारतीय जनता पार्टी, यस्ताे छ राजकीय भ्रमणकाे कार्यसूची 

 प्रधानमन्त्री देउवाको स्वागतमा पर्खदै भारतीय जनता पार्टी, यस्ताे छ राजकीय भ्रमणकाे कार्यसूची 


  • 7.6K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

     प्रधानमन्त्री देउवाको स्वागतमा पर्खदै भारतीय जनता पार्टी, यस्ताे छ राजकीय भ्रमणकाे कार्यसूची 

    काठमाडाैं,१७ चैत्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्रमाेदीकाे निमन्त्रणामा  शुक्रबार भारत प्रस्थान गर्दैछन्। राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री  देउवाले भारतीय जनता पार्टी(भाजपा) कार्यालयको समेत भ्रमण गर्ने छन् । त्यस क्रममा  भाजपाका नेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

    images

    भारतकाे सत्तारुढ भाजपाले नयाँ दिल्लीस्थित पार्टी केन्द्रीय कार्यालयमा देउवाको स्वागत तथा सम्मानको तयारी गरेको छ ।   दोस्रो  पटक कांग्रेस सभापति  निर्वाचित भएपछि भाजपाले कांग्रेससँग सम्बन्ध विस्तारको प्रयास गरेको बताइएको छ  । प्रधानमन्त्री दिल्ली पुगेकै दिन साँझ भाजपाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।  

    अप्रिल १ मा अपरान्ह ३ बजेतिर दिल्लीमा अवतरण गरेपछि देउवा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुग्ने छन् । त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तापछि देउवा दीनदयाल उपाध्यायमार्गस्थित भाजपाको मुख्यालय पुग्नेछन्। त्यहाँ भाजपाका राष्ट्रिय अध्यक्ष जेपीनड्डासहितका वरिष्ठ नेताहरूले देउवाको स्वागत गर्ने कार्यक्रम छ ।

    पार्टी तहमा दुई जना अध्यक्षबीचको पहिलो बैठक हुनेछ । त्यहाँ पार्टीका विदेश विभागका पदाधिकारी र केही मन्त्रीसमेत उपस्थित रहने जनाइएको छ । प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्रराय यादव पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।

    परम्परागत रूपमा नेपाली कांग्रेसको सम्बन्ध भारतमा कांग्रेस आईसँग रहँदै आएको थियो। पछिल्लो पटक कांग्रेस र भाजपा दुवैले पार्टी तहमा सम्बन्ध विकासमा जोड दिएका छन् । गत भदौमा कांग्रेसको निम्तोमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं पुगेका थिए । त्यसपछि भाजपाको निम्तोमा कांग्रेसका अन्तर्राष्ट्रिय विभाग प्रमुख प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेताहरु दिल्ली गएका थिए ।

    भाजपा मुख्यालयपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई पनि उक्त कार्यक्रममा बोलाएको छ । दोस्रो दिन अप्रिल २ मा बिहान साढे १० मा देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्न जाने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदराबाद हाउस पुग्नेछन् ।

    त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डल तहमा दुईपक्षीय वार्ता हुनेछ । लञ्चपछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ । साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री सहभागी हुनेछन् ।

    भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ । प्रधानमन्त्री देउवालाई भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने गर्नेछ । त्यही दिन प्रधानमन्त्री देउवा दिल्लीबाट अपरान्ह नेपाल एयरलाइन्सको नियमित विमानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।