पर्यटक प्रवेश शुल्कबाट ४६ करोड सङ्कलन

पर्यटक प्रवेश शुल्कबाट ४६ करोड सङ्कलन


  • 2.4K
    SHARES
    • आषाढ २८, २०८३ आइतबार
    • ३ महिना अघि
    • 3.7K Views

    पर्यटक प्रवेश शुल्कबाट ४६ करोड सङ्कलन

    कास्की, असार २८ ।अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को तथ्याङ्क अनुसार यस आर्थिक वर्षमा एक्यापले ९२ करोड ७५ लाख ९५ हजार ९ सय रुपियाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्ष २०८०÷८१ को तुलनामा करिब १६ करोड ४२ लाख रुपियाँले बढी हो ।

    images

    गत वर्ष ७६ करोड ३३ लाख ६४ हजार १५३ रुपैयाँ सङ्कलन भएको थियो । एक्यापको आम्दानीको सबैभन्दा ठूलो हिस्सा पर्यटक प्रवेश शुल्क हो ।राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मार्फत सङ्कलन हुने शुल्कबाट ४६ करोड ४८ लाख ८४ हजार रुपियाँभन्दा बढी उठाएको छ ।

    हाल विदेशी पर्यटकका लागि प्रतिव्यक्ति ३ हजार र सार्क मुलुकका पर्यटकका लागि एक हजार रुपियाँ प्रवेश शुल्क तोकिएको छ ।अन्नपूर्ण क्षेत्रको प्राकृतिक सुन्दरता र पदमार्गको स्तरोन्नतिका कारण पर्यटकको चाप बढ्दो क्रममा रहेको छ ।

     जेनजी आन्दोलन र इरान वारले पर्यटक आगमनमा केही प्रभाव परेपनि अन्य समयमा एक्याप क्षेत्रमा पर्यटकको राम्रो उपस्थिति रहँदै आएको एक्यापका प्रमुख डा.रविन कडरियाले बताउनुभयो।

    ‘‘पर्यटकको चाप बढ्दै जाँदा आफूहरुले पनि सोही अनुसारको योजना बनाएका छौँ । पर्यटकका लागि आवश्यक पूर्वाधारमा कार्यालयको ध्यान गएको छ । तीनै तहको सरकारसँगको सहकार्यमा काम समेत भइरहेको छ,’’ उहाँले भन्नुभयो ।

    पर्यटकको चाप बढिरहँदा सोही अनुसार राजस्व पनि बढेको डा। कडरियाले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा ९२ करोडभन्दा बढी सङ्कलन गरिएको उहाँले बताउनुभयो ।अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा एक हजार चार सय १३ होटेल सञ्चालनमा छन् ।

    यी मध्ये एक हजार ३२ वटा निजी जग्गामा र तीन सय ८१ वटा होटेल सार्वजानिक तथा सरकारी जग्गामा सञ्चालनमा रहेको छन् । सार्वजनिक जग्गामा सञ्चालन भइरहेका होटललाई व्यवस्थित गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको एक्यापको धारणा रहेका छ ।

    संरक्षण क्षेत्रका होटलमा ११ हजार ७२१ कोठा रहेका छन् भने निजी क्षेत्रबाट सञ्चालित होटल तथा पर्यटकीय व्यवसायले एक हजार ७०९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको एक्यापका प्रमुख डा.रविन कडरियाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रबाट हरेक वर्ष करिब १० अर्ब रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । यी होटेलमा एकै रातमा २६ हजार आठ सय ६१ पर्यटकलाई आवासको सुविधा उपलब्ध गराउने क्षमता रहेको कडरियाले बताउनुभयो ।

    एक्यापले सार्वजनिक गरिएको विवरणअनुसार मर्दी पदमार्गमा १०३, अन्नपूर्ण–तिलिचो पदमार्गमा ९२, घोडेपानी–घान्दु्रक–अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा ९१, हुगु–कोरी–क्रापु पदमार्गमा ३२, माछापुच्छ्रे मोडेल ट्रेकमा २७, हिडेन लेक क्षेत्रमा १६, खोप्रा पदमार्गमा ६, नर्थ एबीसी क्षेत्रमा ६, भुजुङ–नायु हेरिटेज ट्रेकमा ४, अपर मुस्ताङमा २ तथा अन्य क्षेत्रमा २ वटा होटल सार्वजनिक जग्गामा सञ्चालनमा रहेका छन् ।

    त्यस्तै व्यवस्थापन एकाइका आधारमा मनाङमा सबैभन्दा बढी ३ सय ७५ होटल सञ्चालनमा छन् । त्यसपछि घान्द्रुकमा ३ सय २५, जोमसोममा २ सय ७६, ल्वाङमा २४३, लोमान्थाङमा ७९, सिक्लेसमा ६८ र भुजुङमा ४७ होटल सञ्चालनमा रहेका छन् ।

    सन् १९८६ मा स्थापना भएको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो । सात हजार ६२९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्लाका १६ स्थानीय तह र करिब सय वडामा फैलिएको छ । एक्यापका अनुसार संरक्षण क्षेत्रको पाँच  प्रतिशत भूभाग हिम क्षेत्र, १५ प्रतिशत वन क्षेत्र र २१ प्रतिशत चरन क्षेत्रले ओगटेको छ ।


    तेस्रो आँखा