चितवन, ११ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गर्नुभएको छ । उहाँले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गर्नुभएका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने आश्वासन बनाउने आश्वासन दिनुभएको छ ।
नेताहरूका अनुसार यस अघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाउनुभएका ओलीले यसपटक सहयोग गर्न आग्रह गर्नुभएको हो । आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उहाँ निकट नेताहरू बताउँछन् ।
केपी ओली बन्द सत्रस्थलमा केहीबेर अघि प्रवेश गरिसक्नुभएको छ । त्यहाँ प्रवेश गर्ने क्रममा उहाँले केही प्रतिक्रिया दिनुभएन । बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका रहे पिन दिउँसो १ बज्न लाग्दासमेत सुरु हुनसकेको छैन ।
केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो । अध्यक्ष ओली बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुट्नुभएको थियो ।
एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाड्नुभएको छैन । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ ।
आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा अध्यक्ष ओलीलाई सकस भएको हो ।
न्युज कारखाना
