गुल्मी, साउन २४ गते । चार पटकसम्म निर्माणको म्याद थपिँदा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको गुल्मी अस्पतालको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थलगत अनुगमन गर्नुभएको छ। जिल्लाकै स्वास्थ्य सेवाको ‘लाइफलाइन’ मानिएको अस्पतालको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मन्त्री लम्सालले अब थप ढिलाइ स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण व्यवसायीलाई बाँकी काम यथासक्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो। तोकिएको समयभित्र काम सम्पन्न नगरे कानुनबमोजिम ठेक्का सम्झौता तोडेर नयाँ टेन्डर आह्वान गर्न समेत उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। लामो समयदेखि निर्माणाधीन अस्पताल भवनका कारण सर्वसाधारणले अपेक्षित स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेकोप्रति मन्त्री लम्सालले अस्पतालजस्तो संवेदनशील पूर्वाधार निर्माणमा हुने ढिलाइलाई सामान्य रूपमा लिन नसकिने बताउनुभयो।
“ब्लड बैङ्क तत्काल सञ्चालनमा ल्याउनुहोस्,” अनुगमनका क्रममा मन्त्री लम्सालले अस्पतालमा ब्लड बैङ्कलाई समेत छिटो सञ्चालनमा ल्याउन निर्देशन दिँदै भन्नुभयो। मानव जीवनसँग प्रत्यक्ष जोडिएको ब्लड बैङ्क सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै उहाँले आवश्यक सहयोग सरकारले उपलब्ध गराउने बताउनुभयो। विशेषगरी आकस्मिक अवस्था, दुर्घटना, प्रसूति तथा शल्यक्रियाका क्रममा आवश्यक पर्ने रगतका लागि जिल्लामै व्यवस्थित ब्लड बैङ्क सञ्चालन हुनु अत्यन्त महत्त्वपूर्ण रहेकाले यसलाई प्राथमिकताका साथ अघि बढाउन उहाँले निर्देशन दिनुभएको हो।
सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर घनश्याम यादवका अनुसार गुल्मी अस्पतालको भवन निर्माणमा हालसम्म ९२ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भएको छ। भौतिक प्रगति उच्च देखिए पनि निर्माण कार्य अझै पूर्ण रूपमा सम्पन्न हुन नसक्दा अस्पतालले अपेक्षित स्वरूपमा सेवा विस्तार गर्न सकेको छैन। इन्जिनियर यादवका अनुसार अस्पताल भवन निर्माणका लागि २०७८ असार १८ गते स्वच्छन्द/बानियाँ जेभी, हेटौँडा, मकवानपुरसँग सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८० असारमै सम्पन्न हुनुपर्ने थियो। तर निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीले पटक-पटक म्याद थप गर्दै आएको छ।
चार पटकसम्म म्याद थपिए पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएपछि निर्माण व्यवसायीमाथि नै कडाइ गर्नुपर्ने अवस्था आएको हो। गुल्मी अस्पतालको पूर्वाधार विकास योजना भारत सरकारको पूर्ण आर्थिक सहयोगमा सञ्चालन भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो। योजना सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पामार्फत कार्यान्वयन भइरहेको छ। अस्पताल भवन निर्माण सम्पन्न भएपछि जिल्लाका नागरिकले थप व्यवस्थित, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
तर वर्षौँदेखि निर्माण लम्बिँदा अस्पतालको सेवा विस्तार र पूर्वाधार उपयोगमा समेत असर परेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माणको बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउँदै तोकिएको समयभित्र काम सम्पन्न गर्नुपर्ने र त्यसो हुन नसके ठेक्का सम्झौता तोडेर वैकल्पिक प्रक्रियाबाट निर्माण अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो। गुल्मी जिल्लाको स्वास्थ्य सेवाको केन्द्रका रूपमा रहेको अस्पतालको निर्माणमा भइरहेको ढिलाइ अन्त्य गर्न मन्त्रीस्तरबाटै कडा निर्देशन आएपछि अब निर्माण कम्पनीले कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ।
