• ट्रेण्डिङ्ग :
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले


  • 1.9K
    SHARES
    • भाद्र ५, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 2.9K Views

    गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

    काठमाडौँ, भदौ ५ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्व सङ्कलनको विषयका रूपमा मात्र हेर्न नहुने बताउनुभयो । 

    images

    उहाँका अनुसार गाँजा औषधिजन्य तथा लागूपदार्थका रूपमा नियन्त्रित विषय भएकाले यसबारे विज्ञबाट अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ । “गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी तथा सम्भावित राजस्व सङ्कलनमा मात्र सीमित नभई औषधिजन्य तथा लागूपदार्थका रूपमा नियन्त्रित विषय हो । सम्बन्धित विज्ञबाट अध्ययन तथा निष्कर्ष भई कानुनबमोजिम व्यवस्थित गरिएमा अर्थ मन्त्रालय सहजीकरणका लागि तत्पर रहने छ”, अर्थमन्त्री वाग्लेले भन्नुभयो ।

    विकसित तथा पश्चिमा मुलुकमा समेत यस विषयमा खुलापन बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नेपालले पनि सकारात्मक दृष्टिले अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यस विषयमा गृह मन्त्रालयसँग समन्वय गरी थप अध्ययन तथा निरीक्षण अघि बढाउने बताउनुभयो । “थप अध्ययन र निक्र्योल गरेर कानुनमै यसको व्यवस्था गर्न सकेमा अर्थ मन्त्रालयले सकारात्मक रूपमा हेर्नेछ । गृह मन्त्रालयसँग थप समन्वय गरेर तदारुकताका साथ यो विषयको निक्र्योल गर्न पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

    गाँजा उत्पादन तथा बजारीकरण कानुनबमोजिम व्यवस्थित गर्न सकिएमा आय, रोजगारी, औद्योगिक प्रवद्र्धन र सरकारी राजस्व वृद्धिमा योगदान पुग्न सक्ने उहाँको भनाइ थियो । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालय, आयोग, विभाग, कार्यालय तथा समितिसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा सात लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

    सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै उहाँले आवश्यकता अनुसार उक्त रकम वृद्धि गर्न सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने र औचित्यका आधारमा थप विनियोजनका लागि अर्थ मन्त्रालयसँग माग भएमा आवश्यक रकम उपलब्ध गराउने आश्वासनसमेत दिनुभयो । रासस 


    तेस्रो आँखा