काठमाडौँ, असोज ४ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाले आइतबार एक सूचना जारी गर्दै मौसम तथ्याङ्क, मौसम मोडेल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली अझै बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै जाने देखिन्छ ।
हालसम्मको प्रक्षेपणले उक्त प्रणाली असोज ७ अर्थात् सेप्टेम्बर २३ गतेको आसपास न्यून चापीय क्षेत्रको रुपमा थप बलियो भइ दक्षिण ओडिशा–उत्तर आन्ध्र प्रदेशको तटिय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने देखिएको छ । ‘हालको आँकलन अनुसार यस प्रणालीको कारणले नेपालमा वर्षा गराउने भएता पनि वर्षाको जोखिमको स्तर र हुन सक्ने सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न सकिने अवस्था छैन’, जारी सूचनामा भनिएको छ । विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप सूचना अध्यावधिक गर्दै जाने समेत बताएको छ ।
