संयुक्त राष्ट्रसङ्घीय महासभामा सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन

संयुक्त राष्ट्रसङ्घीय महासभामा सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन


  • 1.7K
    SHARES
    • आश्विन ५, २०८३ सोमबार
    • १ महिना अघि
    • 2.6K Views

    संयुक्त राष्ट्रसङ्घीय महासभामा सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन

    काठमाडौँ, असोज ५ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अन्तर्राष्ट्रिय मञ्चमा सम्बोधन गर्ने विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । “प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको प्रतिनिधिमण्डललाई नेपालको भोटेकोशी विपत्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न निर्देशन दिइएको छ,” उहाँले भन्नुभयो ।

    images

    उहाँका अनुसार बैठकमा सभापति रवि लामिछानेले पार्टीको आन्तरिक जीवनलाई थप सुदृढ बनाउन अनुशासन कायम गर्दै पार्टी, संसद र सरकारबिचको सम्बन्ध थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 

    बैठकले भोटेकोशी बाढी प्रभावितहरूका कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउन सरकारलाई आग्रह पनि गरेको छ । बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउन आग्रह गरिएको प्रवक्ता खरेलले जनाकारी दिनुभयो । 

    “सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूले भोटेकोशीको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूको बहुआयामिक पक्षहरूमा पार्टीलाई जानकारी गराउनुभयो,” उहाँले भन्नुभयो, “बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याई पीडित परिवारलाई राहत प्रदान गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।” यस्तै बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिएको छ ।  

    बैठकले आयोगको रिक्त सदस्य पदमा अधिवक्ताहरू हरिचन्द्र भट्टराई, सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तोष बिसुङ्खे, श्वेताकुमारीलाई चयन गरेको छ । 

    यस्तै ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजङ्ग कार्कीलाई नियुक्त गरिएको छ । सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको खरेलले जानकारी दिनुभयो । बैठकले भोटेकोशी विपत्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनु परेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सुचारु गर्ने निर्णय पनि गरेको छ ।  यस अन्तर्गत ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अगाडि बढाउने निर्णय सचिवालयले गरेको छ ।  

    उहाँका अनुसार मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा समिति संयोजक तथा पार्टीका सहमहामन्त्री हरि ढकालले प्रस्तुत गर्नुभएको प्रारम्भिक प्रतिवेदनमा आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय पनि गरिएको छ । बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराउनुभएको थियो । बैठकमा नवमनोनीत सचिवालय सदस्य  विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । 

       

     


    तेस्रो आँखा