काठमाडौं,२० चैत्र । धेरै वर्ष पछि खुलेको शिक्षक सेवा आयोगको परिक्षा चलिरहदा ठगिगर्नेहरुले सुर्खेतमा अनेकन धन्दा चलाएको कसैलाइ पत्तै भएन । परिक्षर्थीहरु सजिलै शिक्षक बन्ने आसमा २/४ लाखको मुख हेरेनन् । प्रश्नपत्र र त्यसको उत्तर समेत पाउने भएपछि सजिलै शिक्षक सेवा आयोग पास गर्ने र शिक्षक बनीहाल्ने मनोदशाले लाखको लोभ नगर्ने निर्णयमा पुगेका दुइ दर्जन भन्दा बढी परिक्षर्थीहरु अन्ततः ठगिएरै छाडे ।
गत चैत १५ गतेबाट सुरु भएको आयोगको परीक्षामा पास गराइदिने भन्दै प्रतिव्यक्ति २ लाखका दरले रकम उठाएर फरार भए । प्रश्नपत्रसहित उत्तर लेखेर पठाइदिने सर्तमा पैसा उठाउने फरार रहेका व्यक्तिको खोजी भैरहेको छ । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर झन्डै ५०/६० लाख रकम असुलेको पीडित परीक्षार्थीले बताएका छन । कालिका माध्यमिक विद्यालयका शिक्षक खेमराज शाहीले परीक्षार्थीबाट प्रतिव्यक्ति दुई लाख असुलेको बताए ।
फरार जगत शाहीले परीक्षा समयअगावै प्रश्नपत्र लिक गराउने सर्तमा परीक्षार्थीबाट रकम असुलेका थिए । प्रश्नपत्र उपलब्ध नगराएपछि रकम बुझाएका परीक्षार्थीले शुक्रबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकको होटल घेराउ गरेका थिए । त्यसपछि दुई तलाको घरबाट हाम फालेर भागेका शाही अझै फरार छन । गैरकानुनी रूपमा रकम असुल्ने जगत र उनका सहयोगी मनराज शाहीलाई खोजी गरिरहेको सुर्खेत प्रहरी प्रमुख पदम विष्टले बताए ।परीक्षा समयभन्दा अगाडि शाहीले शुक्रबार जेनिथ इन्स्टिच्युट र सुर्खेतस्थित एमपीजे मःम सेन्टरबाट हस्तलिखित प्रश्नोत्तरसहितको फोटोकपी बाँड्दै रकम उठाएको पीडितहरूको भनाइ छ ।
उनीहरूले कालीकोट, दैलेख, जुम्ला, हुम्ला र सुर्खेतलगायतका जिल्लाबाट आएका परीक्षार्थीबाट रकम असुलेका हुन । अरू जिल्लामा पनि उनीहरूले आफ्नो गिरोहमार्फत पास गराउने आवश्वास दिँदै रकम असुलेको पाइएको छ । रकम असुल गर्नेमध्ये मनराज शाहीले आफू संलग्न नभएको दाबी गरे । ‘मेरा भाइहरू हुन सक्छन । सुर्खेतमा मेरो होटल छ, मैले झगडा मिलाउन कल गरेको हो,’ उनले भने ।
कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय प्रमुख दीपा हमालले ट्युसन सेन्टरको बदमासी हुन सक्ने बताइन । ‘यो प्रश्नपत्र शिक्षक सेवा आयोगको होइन,’ उनले भनिन । प्रमुख जिल्ला अधिकारी खगेद्रप्रसाद रिजालले ठगी गर्ने अधिकार कसैलाई नभएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने बताए । ठगी गर्ने गिरोहको नाइके फरार रहेपनि उसँग जोडिएका केही व्यक्तिहरुलाई अनुसन्धानका लागी ल्याउन र बाँकी पत्ता लगाइ तत्काल कारबाहिर अघि बढाउन निर्देशन गरीसकेको अधिकारीले बताए ।
