संरक्षण र विकास सँगसँगै लैजानुपर्छ : मन्त्री चौधरी

संरक्षण र विकास सँगसँगै लैजानुपर्छ : मन्त्री चौधरी


  • 1.5K
    SHARES
    • आश्विन ७, २०८३ बुधबार
    • १ महिना अघि
    • 2.3K Views

    संरक्षण र विकास सँगसँगै लैजानुपर्छ : मन्त्री चौधरी

    काठमाडौँ, असोज ७ गते । राष्ट्रिय संरक्षण सम्मेलन २०२६ बुधबारबाट सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलन २० औं राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर सञ्चालन भएको हो । 

    images

    सम्मेलनको बुधबार उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संरक्षण र विकासलाई एक अर्काको विरोधी नभइ संरक्षण, जीविकोपार्जन र राष्ट्रिय समृद्धि सँगसँगै अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले आउँदा दिनमा संरक्षण र विकास एकसाथ अगाडि लैजानु पर्ने बताउनुभयो । 

    मन्त्री चौधरीले पछिल्ला दिनमा नेपालले संरक्षणका क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा मात्र सन्तुष्ट बस्न सक्ने अवस्था नभएको बताउनुभयो । सो अवसरमा बोल्दै उहाँले नेपालको जैविक विविधता पछिल्ला दिनमा गम्भीर दबाबमा रहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “वन अतिक्रमण, चोरी सिकार, अवैध व्यापार, वन डढेलो, मिचाहा प्रजातिको विस्तार, विषादीको प्रयोग, जल तथा वायुप्रदूषण, बासस्थान क्षयीकरण र मानव–वन्यजन्तु द्वन्द्वजस्ता प्रमुख चुनौतीहरुले नेपालको जैविक विविधतामाथि समस्या सिर्जना गरिरहेको छ ।”

    मन्त्री चौधरीले वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीवन, जीविकोपार्जन र सुरक्षा सुनिश्चित गर्र्नेतर्फ सरकार लागिरहेको बताउनुभयो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा मात्र सीमित नरही दिगो सहअस्तित्व कायम गर्नेतर्फ लक्षित हुनुपर्नेमा जोड दिनुभयो । 

    सरकारले यस आर्थिक वर्षदेखि मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रमलाई राष्ट्रिय बजेट प्रणालीमा समावेश गरेको बताउँदै मन्त्री चौधरीले संरक्षण संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “संरक्षण भनेको  सीमाविहीन विषय हो । जैविक विविधताको संरक्षणका लागि अन्तरदेशीय समन्वय र सहयोग आवश्यक छ ।”

    उहाँले भन्नुभयो, “प्रकृतिले प्रशासनिक सीमा चिन्दैन । वन्यजन्तुको आवत–जावत, नदीको प्रवाह, जैविक प्रणाली र पारिस्थितिकीय सेवाले पनि प्रशासनिक सीमा मान्दैनन् । त्यसैले संरक्षणको लाभ पनि संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित हुँदैनन् ।” 

    स्वच्छ पानी, स्वच्छ हावा, जलवायु नियमन, परागसेचन, कृषि उत्पादन, पर्यटन तथा स्थानीय जीविकोपार्जनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म प्रकृतिको योगदान फैलिएको बताउँदै मन्त्री चौधरीले भूपरिधीस्तरीय संरक्षण र प्रकृतिमा आधारित समाधान खोजिनु पर्नेमा जोड दिनुभयो । 

    मन्त्री चौधरीले वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज व्यवस्थापनमा निरन्तर सुधार भइरहेको जानकारी दिँदै नयाँ चिडियाखाना स्थापना र सञ्चालन, वन्यजन्तु उद्धार व्यवस्थापन, वन्यजन्तु पालनसम्बन्धी मापदण्ड र वन्यजन्तु कल्याणका विषयमा आवश्यक नीति तथा मार्गदर्शन तयार तथा परिमार्जन गर्ने काममा मन्त्रालय लागिरहेको जानकारी दिनुभयो । 

    सो कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालले संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । 

    उहाँले जलवायु परिवर्तनको प्रत्यक्ष असर संरक्षणमा पनि परिरहेको बताउँदै लामो समयदेखि गरेको जैविक विविधताको संरक्षण जलवायुजन्य विपत्ले थप चुनौती थपिदिएको बताउनुभयो । 

    कार्यक्रममा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसिएन) का राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रमान बाबु प्रधानले विकास र संरक्षणमा एकैसाथ लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलनबाट पारित एजेण्डालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको विश्व सम्मेलनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनको जैविक विविधतामा परेको असर, जलवायु न्याय, जलवायु वित्त, नेपालको संरक्षणमा सहअस्तित्वको सवाल, हिमाली अर्थतन्त्र र जलवायु परिवर्तन, हिमालका लागि जलवायु वित्तको आवश्यकतालगायत विषयमा वैज्ञानिक, अध्येताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सो कार्यपत्रमा व्यापक छलफल गरी काठमाडौँ घोषणापत्र जारी गरिने भएको छ । 

    सम्मेलनले पारित गरेका विषयहरुमा सरकारले आगामी दिनमा नीति निर्माण गर्दा, योजना तथा कार्यव्रmम तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुरा सम्मेलनमा सहभागी वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ताहरुले आग्रह गरेका छन् । 

    २०६३ असोज ७ गते तत्कालिन वनमन्त्री गोपाल राई, नेपालका लागि फिनल्याण्डका राजदुत एम. पाउली, तत्कालिन वन मन्त्रालयका सचिव दामोदर पराजुली, सहसचिवद्वय नारायणप्रसाद पौडेल, शरदकुमार राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान शाक्य, संरक्षण साझेदार तथा दातृ निकायका उच्च पदस्थ, विदेशी संरक्षण क्षेत्रमा लागेका अध्येताहरु स्वदेशी गरी २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । 

    कञ्चनजङ्गा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम जाने क्रममा सो दुर्घटना भएको थियो । सोही दिनको सम्झनामा नेपालले हरेक वर्ष असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाउँदैआएको छ । 

     


    तेस्रो आँखा