काठमाडौँ, असोज ९ गते । देशको अधिकांश भूभागमा असोज ८ गतेदेखि अविरल वर्षा भइरहेको छ । केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा करिब नेपालभर वर्षा भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी र केही स्थानमा धेरै भारी वर्षा भएको उहाँले बताउनुभयो ।
“अझै थप वर्षा हुनसक्ने सम्भावना रहेको हुनाले हामीले अझ बढी सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ” लामिछानेले भन्नुभयो । यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अहिलेको अवस्था प्रतिकूल रहेकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
देशको अधिकांश प्रदेश तथा जिल्लामा सामान्यदेखि भारी र केही स्थानमा धेरै भारी वर्षा भइरहेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार तत्काल अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।
तराईका होचा तथा डुबानको जोखिम भएका क्षेत्रमा बाढी तथा डुबान र पहाडी तथा भिरालो भूभागमा रहेका बस्तीमा पहिरोको जोखिम रहेकाले नागरिकले आफ्नो बसोबास क्षेत्रको जोखिम पहिचान गरी सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्नसक्ने भएकाले खोला किनार र तटीय क्षेत्रमा रहेका नागरिकलाई थप सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । बाढीको पानीमा सवारीसाधन चलाउने, पौडी खेल्ने, माछा मार्ने वा दाउरा संकलन गर्न जानेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न महतले आग्रह गर्नुभयो ।
प्राधिकरणले सम्भावित विपद्को अवस्थालाई ध्यानमा राख्दै निगरानी तथा सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ । वर्षाको प्रभाव दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत पर्नसक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
