काठमाडौ, १० असाेज । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचन समितिको पहल तथा सम्बन्धित पक्षबीचको सहमतिका आधारमा संस्थाको सभापतिमा सितल गिरी र केन्द्रीय सदस्यमा नवीन विक्रम ओली निर्वाचित भएका छन्।
निर्वाचन समितिका संयोजक अभिमन्यु केसीका अनुसार केन्द्रीय समिति तथा विभिन्न राज्य समितिका पदहरूमा आपसी समझदारीका आधारमा सर्वसम्मत उम्मेदवार चयन गरिएको हो।
केन्द्रीय सदस्यमा निर्वाचित युवा नेता नवीन विक्रम ओली लामो समयदेखि राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। यसअघि उनले स्वदेशमा राप्ती प्राविधिक शिक्षालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति तथा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाको नगर सदस्यका रूपमा युवा परिचालकको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्। स्वदेशमा रहँदा विद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा रहेका ओली प्रवासमा पनि नेपालीहरूको सुख-दुःखमा सहयोगी बन्दै आएका छन्।
निर्वाचित भएपछि ओलीले सम्पूर्ण प्रवासी नेपालीहरूलाई गैरआवासीय नागरिकता प्राप्तिको प्रक्रिया सहज बनाउन पहल गर्ने र गैरआवासीय नेपालीहरूको सीप तथा पुँजीलाई स्वदेशमा भित्र्याउन लगानीमैत्री वातावरण सिर्जना गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्। साथै उनले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई कुनै पनि समस्या वा अप्ठ्यारो परेमा आफूलाई सिधै सम्पर्क गर्न आग्रह समेत गरेका छन्।
