पोखरा । लोकदोहोरी गायक तारापति सुवेदीको नयाँ दसैँ गीत "फर्क पियारा" सार्वजनिक भएको छ। नेपालीहरूको महान् पर्व दसैँको माहोल नजिकिँदै गर्दा सुवेदीले नयाँ गीत श्रोतामाझ ल्याएका हुन्।
गीतमा तारापति सुवेदीकै स्वर, शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज दिवस थापा मगरले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ खड्का बाजुरालको रहेको छ। गीतको भिडियो निर्देशन सुभाष अम्गाईंले गरेका छन्।
गीतको भिडियो निर्माणमा बासुरी डिजिटल एन्ड मालाश्री स्टुडियो, सिनेमाटोग्राफी अर्जुन बास्तोला, मेकअप जया गुरुङ, लाइटतर्फ हरि पौडेल तथा देउ गुरुङको सहभागिता रहेको छ। सम्पादन तथा कलर सुभाष अम्गाईंले गरेका छन्। सारङ्गीतर्फ हेमन्त कान्छा रसाइली तथा लाइभ इन्स्ट्रुमेन्टमा दिलीप गायक, अशोक बस्याल, राहुल श्रेष्ठ, डिप्सन बीसी र कुशन गायकको योगदान रहेको छ। निर्माणमा पोखरा थिएटरको समेत सहयोग रहेको छ भने गीतको भिडियोमा सुवेदी आफैले अभिनय समेत गरेका छन्।
गीतमा परदेशिएका आफन्तको सम्झना तथा नेपाली मौलिक संस्कृति र परम्परालाई प्रस्तुत गरिएको छ। विशेषगरी विदेशमा रहेका नेपालीहरूले दसैँका बेला घरपरिवार र गाउँघरलाई सम्झिने भावनालाई गीतले समेटेको छ। लोकगायक सुवेदीले यसअघि पनि नेपाली ग्रामीण जीवन, सामाजिक परिवेश, मौलिक संस्कृति तथा चाडपर्वका भावनालाई आफ्ना सिर्जनामार्फत प्रस्तुत गर्दै आएका छन्।
दसैँ नेपाली समाजमा पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सांस्कृतिक परम्परासँग जोडिएको पर्व भएकाले यस अवसरमा सार्वजनिक हुने गीत–संगीतले पर्वको रौनक थप्ने गर्छन्। अझ परदेशमा रहेका नेपालीहरूका लागि यस्ता गीतले घर, परिवार, गाउँघर र बाल्यकालका दसैँका सम्झनालाई पुनः ताजा गराउने माध्यम बन्ने गरेका छन्।
मौलिक नेपाली लोकसंस्कृति र दसैँको उमंगलाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रोता–दर्शकलाई जोड्ने अपेक्षा गरिएको छ। सुवेदीले नयाँ सिर्जनालाई माया गर्दै गीत तथा भिडियो हेरेर, सुनेर र साथ दिएर नेपाली मौलिक लोकसंगीतलाई प्रोत्साहन गर्न संगीतप्रेमीहरूलाई आग्रह गरेका छन् |
