• ट्रेण्डिङ्ग :
‘कुराले मात्रै विकास हुँदैन’

‘कुराले मात्रै विकास हुँदैन’


  • 1.8K
    SHARES
    • आश्विन १६, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 2.7K Views

    ‘कुराले मात्रै विकास हुँदैन’

    भैरहवा, असोज १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले विकासका कामको मूल्याङ्कन परिणामका आधारमा गर्नुपर्ने बताउनुभयो । उहाँले जनताले अब विकासका योजनाको प्रतिफल खोज्न थालेकाले सरकारका कामको प्रभाव देखिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका काममा जनताले परिणाम खोजेका छन् । कुराले मात्रै विकास हुँदैन । आलोचना गरेर मात्रै पनि विकास हुँदैन । अब विकासका लागि काम गर्नु पर्छ ।”

    images

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकार अन्तर्गतका कतिपय आयोजना बजेट अभावलगायत कारणले अलपत्र अवस्थामा रहेकाले तिनलाई अघि बढाउन सङ्घीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जानकारी दिनुभयो ।

    सङ्घीय सरकारका ससर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका विभिन्न जिल्लामा विकासनिर्माण प्रभावित भएको उहाँको भनाइ थियो । उहाँले अर्घाखाँचीमा मात्रै सङ्घीय सरकारका २७ वटा ससर्त आयोजना रहेको उल्लेख गर्दै विनियोजित बजेट र आयोजनाको कार्यान्वयन अवस्थाको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशका विकास आयोजनाको मूल्याङ्कन राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा नभई आवश्यकता र प्राप्त परिणामका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।

    विकासनिर्माणका विषयमा हुने गलत प्रचार अन्त्य गर्नुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले राम्रो काम गर्ने कार्यालय र कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सोलोडोलोमा मूल्याङ्कन गरिनु हुँदैन । राम्रा काम भएका छन् । काम गर्नेहरूको मूल्याङ्कन हुन जरुरी छ । राम्रा काम गर्ने कार्यालय र कार्यालयभित्रका कर्मचारीलाई हामीले दिलैदेखि धन्यवाद दिनु पर्छ ।”

    मुख्यमन्त्री आचार्यले वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश तथा स्थानीय तहको विकास र राजस्व सङ्कलनमा समेत असर परेको दाबी गर्नुभयो । वन तथा नदीजन्य पदार्थबाट अपेक्षा अनुसार राजस्व सङ्कलन हुन नसकेको उल्लेख गर्दै उहाँले कानुनी तथा नीतिगत सुधारका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको जानकारी दिनुभयो ।

    उहाँले लुम्बिनी प्रदेशमा पछिल्लो समय पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ र सडकका क्षेत्रमा उल्लेख्य काम भएको दाबी गर्नुभयो । उहाँले अर्घाखाँचीमा पक्की तथा झोलुङ्गे पुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयका भौतिक संरचनामा सुधार तथा आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको बताउनुभयो ।

    विकासको वर्तमान अवस्था मूल्याङ्कन गर्दा विगतको अवस्थासँग तुलना गर्नुपर्ने उहाँको भनाइ थियो । २०७४ सालअघिको अवस्था र त्यसयता भएका विकासलाई हेर्नुपर्ने बताउँदै उहाँले अर्घाखाँचीमा पूर्वाधार तथा सेवा विस्तारमा परिवर्तन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “३५ वर्षमा केही भएन भनेर गलत भाष्य खडा गर्न खोजिएको छ । यो गलत हो । यो बिचमा अर्घाखाँचीले मुहार फेरेको छ ।” मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासका लागि सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वय थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।   

     


    तेस्रो आँखा