ललितपुर, असोज १७ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ज्यापू समाज यलद्वारा आज यहाँ आयोजित समाजको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले सांस्कृतिक सम्पदा संरक्षण गर्नु अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । रासस
