गोरखा, असोज १७ । नेपालको पहिलो केवलकार मनकामना केवलकारले भोटेकोशी–त्रिशूली हिमबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपियाँ सहयोग हस्तान्तरण गरेको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका विभिन्न भूभागमा बाढी, पहिरो तथा डुबानबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मनकामना केवलकारले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मनकामना केवलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै, विपद्मा परी घाइते तथा प्रभावित भएका सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्नुभएको छ ।
विपद्को कठिन समयमा राज्य र नागरिक दुवैको साझा जिम्मेवारी हुने उल्लेख गर्दै श्रेष्ठले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भई कष्टकर जीवन बिताउन बाध्य नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।
उहाँले आफ्नो सहयोगले विपद्मा परेका पीडितको दुःखमा केही राहत पुग्ने र उनीहरूलाई पुनः सामान्य जीवनमा फर्किन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
श्रेष्ठले विपद्को घडीमा देशवासी, उद्योगी–व्यवसायी, सामाजिक सङ्घसंस्था तथा सहयोगी मन भएका सबै महानुभावलाई आ–आफ्नो स्थानबाट उद्धार, राहत तथा पुनर्निर्माणका कार्यमा सक्दो सहयोग गर्न अपिलसमेत गर्नुभएको छ ।
