काठमाडौँ, असोज १९ गते । प्रधानसेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) प्रस्थान गर्नुभएको छ ।
प्रधानसेनापति सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि २५ गतेसम्म बेलायत भ्रमणमा रहनुहुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानसेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गर्नुभएको थियो । भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धलाई थप टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ । सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत यसले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकाम प्रधानसेनापति रूपमा कार्यभार सम्हाल्नुहुनेछ ।
