काठमाडौँ, असोज २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सो भेटको क्रममा नेपाल र स्विट्जरल्यान्डबिच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारसँगको सहकार्य तथा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।
भेटमा डिजिटल सुरक्षा, सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा पनि छलफल भएको थियो । सोक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालले डिजिटल रुपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताउनुभयो।
वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभएको थियो । उहाँले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिनुभएको थियो । सो भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो ।
हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्धनमा सहकार्य गर्दैआएको छ।
