घोराही, असोज २३ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने बताउनुभएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वास्थ्य सेवा जनमुखी हुनुपर्नेमा जोड दिनुभएको हो ।
प्रतिष्ठानकी सहकुलपति समेत रहनुभएकी मन्त्री मेहताले आर्थिक रुपमा कमजोर नागरिकलाई सेवा स्वास्थ्य सेवा प्रदान गर्ने गरि स्वास्थ्य संस्थामा दश प्रतिशत निःशुल्क सेवाको व्यवस्था गरिएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । ‘आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि नागरिक सेवाबाट वञ्चित हुनुहुँदैन’,मन्त्री मेहताले भन्नुभयो, ‘त्यसका लागि प्रचलित व्यवस्था र मापदण्डअनुसार स्वास्थ्य संस्थाले उपलब्ध गराउनुपर्ने दश प्रतिशत निःशुल्क सेवा प्रभावकारी रूपमा कार्यान्वयन भई लक्षित वर्गले लाभ पाउने वातावरण बन्नुपर्छ ।’
उपचारले अस्पतालले गुणस्तरीय सेवासँगै बिरामी र कुरुवाका लागि स्वच्छ वातावरण, फोहोरको उचित व्यवस्थापन र कर्मचारीको सम्मानजनक व्यवहारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । दाङसँगै पश्चिम क्षेत्रको गौरवका रूपमा रहेको प्रतिष्ठानको सेवा विस्तार, आईसीयु र विशेष सेवा थप तथा औषधि व्यवस्थापनलाई प्राथमिकता दिएर काम भइरहेको भन्दै मन्त्री मेहताले प्रतिष्ठानले उपचार सेवासँगै अनुसन्धान कार्यलाई पनि अघि बढाउनुपर्ने बताउनुभयो ।
स्वास्थ्य सेवाको विस्तारबारे बोल्दै मन्त्री मेहताले भन्नुभयो,‘स्वास्थ्य सेवा ठुलो हुनु भनेको भवन ठुलो हुनु मात्र होइन । सेवा पाउने बिरामीको संख्या बढ्नु, सेवाको गुणस्तर हुनु र उपचारका लागि आउने बिरामीको लाइन कम हुनु पनि हो । त्यसतर्फ प्रतिष्ठानले ध्यान दिनुपर्छ ।’ बिरामीलाई अन्य अस्पताल रिफर गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापनमा ध्यान दिनुपर्ने र आवश्यक शल्यक्रिया समयमै गरिनुपर्ने उहाँको भनाइ थियो । प्रतिष्ठानको विकासमा संघीय, प्रदेश र स्थानीय सरकारसँगै मुदायको सहयोग आवश्यक बताउनुभएको थियो ।
प्रतिष्ठानका उपकुलपति डा. अजय मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव विकास देवकोटाले प्रतिष्ठानलाई नागरिकले गुणस्तरीय सेवा पाउने थलोसँगै अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको थियो । उहाँले सरकार र नागरिकको सहकार्यबाट प्रतिष्ठान अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै चार सय शैयाको अस्पताल भवन निर्माणका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अन्य वक्ताले दाङको गौरवका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै स्थानीय नागरिकका विचमा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका प्रमुख सल्लाहकार प्रधान, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तलगायतले सम्वोधन गर्नुभएको थियो ।
प्रतिष्ठानले वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानमा मुटुरोगको उपचार सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ । मन्त्री मेहताले क्याथ ल्याबको उद्घाटन गर्नुभयो। यसको सञ्चालनले मुटुरोगको पहिचान र उपचारमा सहजता हुने तथा प्रतिष्ठानको विशेषज्ञ स्वास्थ्य सेवाको क्षमता विस्तार भई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
