दाङ, २० चैत। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले वर्तमान सत्तागठबन्धनको विरोधमा नलाग्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन दाङमा आवद्ध केही पत्रकारहरुसँगको छलफलका क्रममा प्रदेश उपसभापति खनालले वर्तमान सत्ता गठबन्धन आगामी तीनै तहको निर्वाचन सम्मै कायम रहने र यसको बिरोधमा नलाग्न आग्रह गरे ।
‘अहिलेको गठबन्धन स्थानीय, प्रतिनिधिसभा तथा प्रदेशसभा सम्म नै कायम रहने देखिन्छ,’ खनालले भने ‘पार्टी केन्द्रीय समितिले नै गठबन्धन गरेर जाने भनिसकेपछि हामी सबै कांग्रेसीहरु गठबन्धनको पक्षमा उभिनु पर्छ, विरोधमा लाग्नु हुँदैन ।’
अहिलेको गठबन्धन कांग्रेस वा गठबन्धनमा आवद्ध दलहरुको हितका निम्ती मात्रै नभएको भन्दै खनालले समग्र्र मुलुकका लागि आवश्यक रहेको बताए । ‘हाम्रो प्रतिष्पर्धा भनेको एमालेसंग हो, एमालेले हिँजो सत्तामा रहँदा मासिनै थालेको लोकतन्त्र गठबन्धनले जोगाएको सत्य बिर्सन हुँदैन,’ खनालले भने ‘यसर्थ लोकतन्त्र बचाउनका लागि पनि गठबन्धनमा रहेका सबै दलहरु एक भएर लाग्नुको बिकल्प छैन ।’
यसैगरि उनले स्थानीय तहको निर्वाचनमा हुने तालमेलका विषयमा गठबन्धनमा रहेका अन्य दलहरुसँग पनि संवाद भैरहेको भन्दै तालमेलको मोडालिटि पनि तय हुने बताए । ‘कसरी कुन ढंगबाट वा कुन आधारबाट तालमेल गर्ने भन्ने विषयमा केन्द्रले पनि मोडालिटि तय गर्ला,’ उनले भने ‘अहिले गठबन्धनमा रहेका दलहरुकाबीचमा गठबन्धनका बारेमा छलफलहरु निरन्तर भैरहेका छन् ।’
