सल्यान, कात्तिक १ । सल्यानको शारदा नगरपालिका–११, हिवल्चास्थित प्रसिद्ध खैराबाङ भुवनेश्वरी भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । घटस्थापनादेखि सुरु भएको विशेष पूजाआराधनाका लागि सल्यानसहित देशका विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ ।
दसैँ र चैतेदसैँमा विशेष चहलपहल हुने यस मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष पूजा, अनुष्ठान तथा पशुबलि दिने परम्परा छ । भक्तजनले बोका, राँगा, कुखुरालगायतका पशुपन्छी र फलफूल चढाएर भगवतीको आराधना गर्ने गर्छन् । दाङको तुलसीपुरबाट दर्शनका लागि आएका वसन्त न्यौपानेले खैराबाङ भगवती मन्दिरको महिमा धेरै रहेको र धार्मिक विश्वासका कारण टाढा टाढाबाट भक्तजन आउने गरेको बताउनुभयो । उहाँले मन्दिरप्रति भक्तजनको गहिरो आस्था रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै दर्शनार्थी करुणा डाँगीले मन्दिरसम्म पुग्ने सडकको अवस्था सुधार गरी कालोपत्रे गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सडक कालोपत्रे भए भक्तजनलाई आवतजावत गर्न सहज हुने र धार्मिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । दर्शनार्थी चनमती ओलीले मन्दिरको पुनर्निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिरको प्रचारप्रसारलाई व्यापक बनाउन सके देशका विभिन्न स्थानबाट थप भक्तजन तथा पर्यटक आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।
स्थानीय जनविश्वास अनुसार खैराबाङ भगवती मन्दिरमा विसं १४८० देखि पूजाआजा हुँदै आएको छ । भुवनेश्वरी, पाटेश्वरी र खड्गेश्वरी नामले समेत चिनिने यस मन्दिरलाई नेपालका ५१ शक्तिपीठमध्ये एक मान्ने धार्मिक विश्वास छ ।
यस्तै स्थानीय अभिलेखमा विसं १९३० मा गीर्वाणयुद्ध वीरविव्रmम शाहदेव, सुरेन्द्र वीरविव्रmम शाहदेव र तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा खैराबाङ आएको उल्लेख छ । विसं २०१६ मा राजा महेन्द्रबाट मन्दिरका लागि पूजा सामग्री पठाइएको थियो । त्यसै गरी विसं २०४० मा राजा वीरेन्द्रको निर्देशनपछि तत्कालीन राष्ट्रिय पञ्चायत अध्यक्ष तथा प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठको पहलमा मन्दिर पुनर्निर्माण गरिएको स्थानीय अभिलेखमा उल्लेख छ ।
मन्दिरमा दर्शनार्थीको चाप बढेसँगै व्यवस्थापनका लागि पालो मिलाउने व्यवस्था गरिएको छ । दर्शनार्थीको सुरक्षाका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ भने खानेपानी र शौचालयको सुविधा पनि उपलब्ध गराइएको छ । खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरमा आउने भक्तजनको चाप व्यवस्थित गर्न आवश्यक व्यवस्थापन मिलाइएको छ । मन्दिरका पुजारी छविरमण शर्माका अनुसार यहाँ वार्षिक करिब दुई लाख भक्तजनले दर्शन गर्ने गरेका छन् । सल्यानसहित दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र काठमाडौँ उपत्यकालगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् । भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातìव विभागको सहयोगमा सुरु गरिएको मन्दिर पुनर्निर्माण बजेट अभावमा रोकिएको छ । करिब चार दशकअघि पुनर्निर्माण गरिएको मन्दिरलाई यस पटक परम्परागत नेपाली प्यागोडा शैलीमा निर्माण गर्न थालिएको हो । पुनर्निर्माणमा ढुङ्गा, माटो र काठ प्रयोग गरिएको छ । धार्मिक आस्था र ऐतिहासिक महìव बोकेको मन्दिरमा भक्तजनको चहलपहल बढे पनि पुनर्निर्माण भने बजेट अभावमा अधुरै रहेको छ । मन्दिर पुनर्निर्माणका लागि एक करोड ५२ लाख रुपियाँ लागत अनुमान गरिएको खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितिका पूर्वअध्यक्ष छविकुमार शर्माले जानकारी दिनुभयो ।
