काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह सहभागी हुने भएका छन्। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटनमा प्रधानमन्त्री शाह सहभागी हुने भएका हुन् ।
उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट पनि प्रतियोगिता सफलताको शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ र यो केही वर्षमै एक ठूलो खेलकुद प्रतियोगितामा परिणत भएको छ । लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।’
