• ट्रेण्डिङ्ग :
जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल


  • 807
    SHARES
    • कार्तिक २७, २०८३ बिहीबार
    • ५१ मिनेट अघि
    • 1.2K Views

    जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

    अन्ताल्या, कात्तिक २६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले हिन्दुकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनको साझा चुनौतीको प्रभावकारी सम्बोधन तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि क्षेत्रीय सहकार्यको संयन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ।

    images

    तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३१) को अवसरमा नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको हो।

    रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स विषयक उक्त कार्यक्रममा परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

    उहाँले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन, प्रविधि हस्तान्तरण, ज्ञान आदानप्रदान र सफल अभ्यासहरूको विस्तारका लागि नीतिगत समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रमा साझा प्रयासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

    उक्त कार्यक्रममा कोप ३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


    तेस्रो आँखा