काठमाडौँ, कात्तिक २६ गते । नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल बनाउँदै सङ्क्रामक रोग नियन्त्रणमा जोड दिएको छ।
यस्तै एन्टिमाइक्रोबियल प्रतिरोध न्यूनीकरण र स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारीमा सदस्य राष्ट्रबिच सहकार्य विस्तार गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्यलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ उठाएको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्दै क्षेत्रीय जनस्वास्थ्यका साझा चुनौती र तिनको सामूहिक समाधानका लागि नेपालको धारणा प्रस्तुत गर्नुभएको छ।
उहाँले सङ्क्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) न्यूनीकरण, जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखिएका असर, स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी तथा सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा नेपालको प्राथमिकता प्रस्तुत गर्नुभएको हो।
मन्त्री मेहताले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई सबल, समावेशी र उत्थानशील बनाउन बिमस्टेक सदस्य राष्ट्रबिच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा देखिएका साझा चुनौतीको सामना गर्न सदस्य राष्ट्रहरूले एकअर्काका अनुभव, प्राविधिक ज्ञान र असल अभ्यास आदानप्रदान गर्दै सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकका क्रममा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरुरसँग पनि विभिन्न विषयमा छलफल भएको छ। छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य प्रणालीको सुदृढीकरण, प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान र साझा स्वास्थ्य समस्याको समाधानका उपायबारे छलफल भएको छ।
बैठकमा नेपालको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्री मेहताका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयकी प्रशासन सहसचिव हुमकला पाण्डेलगायत सहभागी हुनुहुन्छ।
भारतीय समकक्षीसँग भेटवार्ता
यसैबिच, मन्त्री मेहताले बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठककै क्रममा भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डासँग भेटवार्ता गर्नुभएको छ। भारतीय मन्त्री नड्डाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली समकक्षीसँग कोलम्बोमा भेटवार्ता भएको जानकारी सार्वजनिक गर्नुभएको हो।
उहाँले नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई स्वास्थ्य र विकास क्षेत्रको सहकार्यले थप सुदृढ बनाएको उल्लेख गर्नुभएको छ।
भेटका क्रममा द्विपक्षीय तथा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य क्षेत्रका अनुभव, विशेषज्ञता र असल अभ्यास आदानप्रदान तथा नागरिकको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।
मन्त्री नड्डाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिलो’ नीतिअनुरुप नेपालसँगको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा मिलेर काम गर्दा दुवै देशका नागरिकको स्वास्थ्य परिणाम सुधार हुनुका साथै क्षेत्रीय समृद्धिमा समेत योगदान पुग्ने बताउनुभयो ।
