काठमाडौं, २२ चैत्र । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् ।
गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताइन् ।
राष्ट्रिय राजनीतिका चुनौतीलाई सामाना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिवद्धता दलहरुबाट व्यक्त भएको उनले बताइन् ।
मन्त्री भुसालले गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभइ परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताइन् । 'परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो,' उनले भनिन् 'आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ ।'
