काठमाडाैं,२२ चैत्र । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए ।
वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत छन् ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेको थियो । त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए ।
विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्याउन भन्दै गएका थिए । बाटोमा विवाद बढेपपछि सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगीएको छ ।
