गठबन्धन दल लाई सिट बाँडफाँडमा सकस 

गठबन्धन दल लाई सिट बाँडफाँडमा सकस 


  • 11.5K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 17.8K Views

    गठबन्धन  दल लाई  सिट बाँडफाँडमा सकस 

    काठमाडाैं,२३ चैत्र । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता गठबन्धनमा आबद्ध पाँच दललाई सिट संख्या बाँडफाँडमा सकस देखिएको छ । दलहरुले सिट संख्या बाँडफाँको मापदण्डबारे फरक–फरक प्रस्ताव अघि सारेपछि समस्या देखिएको हो । गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले आफूअनुकूल तालमेल प्रस्ताव ल्याएका हुन् ।

    images

    अनौपचारिक रूपमा आएका प्रस्तावमाथि गठबन्धनले औपचारिक छलफल गर्न भने बाँकी छ । सत्ता गठबन्धनको ठूलो दल कांग्रेसले ‘गत निर्वाचनमा प्रमुख जसले जहाँ जितेको छ, उसले लिने र एमालेसहित अन्य दलले जितेको ठाउँमा दोस्रो धेरै मत पाएको दलले प्रमुख, तेस्रो मत पाउनेले उपप्रमुख लिने प्रस्ताव अघि सारेको’ एक नेताले बताए । यो प्रस्ताव माओवादीसहितका अन्य दलले मानेका छैनन् । किनकि ०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेका अधिकांश ठाउँमा दोस्रो दल कांग्रेस नै छ ।

    महानगरबाहेकका पालिकामा आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि जितेका ठाउँमा यथावत् राख्दै एमालेले जितेका ठाउँहरूको भागबन्डा गर्ने प्रस्ताव गरेका छन् । यो गत माघ १२ को राष्ट्रिय सभा निर्वाचनमा प्रयोग भएको विधि हो । ०७४ को निर्वाचनमा एमालेले करिब ४० प्रतिशत स्थानीय तह जितेको थियो । गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीले एमालेले जितेको ठाउँ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको हो । संगठनको शक्ति र एकीकृत समाजवादीको प्रस्ताव मेल नखाने गठबन्धनका अन्य साझेदार दलहरूको बुझाइ छ । एकीकृत समाजवादीमा लागेका स्थानीय जनप्रतिनिधिको संख्या कम छ ।सत्ता गठबन्धनको चौथो दल जनता समाजवादी पार्टीले भने ०७४ को निर्वाचनको मत परिणामलाई आधार मानेर नभई न्यायोचित ढंगले सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । खासगरी मधेस प्रदेश र लुम्बिनी प्रदेशमा जसपाको प्रभाव छ । जसपाका नेताहरूले ०७४ को स्थानीय निर्वाचनपछि विभिन्न तहमा पार्टी एकता भएकाले पछिल्लो शक्तिअनुसार हिस्सेदारी पाउनुपर्ने माग राखेका छन् ।

    कतिपय जिल्लामा गठबन्धनको बैठकमा सहभागी नगराइएको भन्दै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सार्वजनिक रूपमै असन्तुष्टि राखेका छन् । सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले भने आफ्नो प्रभाव भएको ठाउँमा नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । जनमोर्चाको जनआधार प्यूठान, बागलुङ र अर्घाखाँचीलगायत जिल्लामा राम्रो छ ।दलहरूले आफू अनुकूल प्रस्ताव अगाडि सारे पनि समग्र वस्तुस्थितिको अध्ययन–विश्लेषणका आधारमा सिट बाँडफाँट गर्न सकिने शीर्ष नेताहरू बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • तेस्रो आँखा
    लेखकबाट थप