काठमाडौं, २७ चैत्र । काठमाडौं महानगरको मुख्य समस्याहरुमा रहेको फोहोरको व्यवस्थापन अझै हुन सकेको छैन् । विभिन्न कारण देखाउँदै हप्तौं सम्म फोहोर नउठेर काठमाडौं सहर दुर्गन्धीत बन्दै आएको छ । पछिल्लो एक हप्ता देखि काठमाडौंका चोक चोकमा फोहोरको डंगुर छ । फोहोरको दुर्गन्धले गर्दा सडकको पेटीमा हिड्न नसक्ने अवस्था छ । काठमाडौं महानगरको फोहोर नउठेको करिब दश दिन भएको काठमाडौं महानगर पालिकाका प्रवक्ता इश्वरमान डंगोल बताए ।

एक दिन फोहोर नउठ्दा चरम दुर्गन्ध फैलने शहरमा दशौं दिन सम्म फोहोर उठाउन नसकेको भन्दै आम नागरिकले गुनासो गरेका छन् । सिसडोल तीनपिप्ले खण्डको पासाङल्हामु राजमार्ग बनाउन माग गर्दै त्यहाँका बासीन्दाहरुले फोहोर लानेकाममा अबरोध गरेको प्रवक्ता डंगोलले बताएका छन् । तर तीनदिन देखि राती राती फोहोर उठाउने गरेको डंगोलले बताए । फोहोर लान अबरोध गरेपछि अहिले त्यहाँको सडक निर्माणकार्य भैरहेको छ ।

‘सडक निर्माणको काम भैरहेको छ’, प्रवक्ता डंगोलले भने ‘अब पूर्ण रुपमा फोहोर कहिले उठ्छ भन्ने निश्चित छैन तर उनीहरुले भनेको सडकको निर्माण कार्य भैरहेको हुनाले अब छिट्टै पूर्णरुपमा फोहोर उठ्छ भन्ने लागेको छ ।’ कहिले सम्म अवरोध हुन्छ भन्ने थाहा नभएपनि दिनमा हुने अवरोधलाई छलेर रातमा फोहोर उठाइरहेको डंगोलको भनाइ छ । तर काठमाडौंको फोहारको डंगुरभने घटेको देखिदैन । यसले काठमाडौबासी नागरिकमा रोगको प्रकोप फैलाएर भयाबह अवस्था आउन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचन नजिकीदै छ । निर्वाचनमा विभिन्न राजनैतिक दलहरुले सफा, स्वच्छ र सुन्दर महानगर, पर्यटकीय महानगर भन्ने घोषणापत्र बनाएका धेरै निर्वाचनहरु बितिसकेका छन् । तर काठमाडौं महानगरको मुहार भने जो आउँदा पनि फेरिन नसकेको महानगरवासीको गुनासो छ । देशकै राजधानीको रुपमा रहेको काठमाडौं यसरी फोहोरको डंगुरमा डुबेर बस्नु आफैमा दुःखद भएको काठमाडौंबासीको भनाइ छ ।

पदम भुजेल
