काठमाडौं, १२ मंसिर । सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
बन्दसत्रले आइतबार राति अध्यक्ष ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिबीच ओलीले आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहनुभएको छ ।
भेटका क्रममा उहाँले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहे पनि अहिलेसम्म रावलसँग ओलीले संवाद गर्नुभएको हो ।
रावल निकट एक नेताका अनुसार ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले भने चुनावी प्रचार थाल्नुभएको छ ।
आफ्नै टिम मिलाउन सकस परिरहेका बेला ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिनुभएको छ । राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गरे पनि त्यो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।
उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एक जनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाब छ ।
दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि त्यस समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताए । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट्नुभएको छ ।
सहमति नभएसम्म बन्दसत्र हलमा नजाने अडानमा रहेका ओलीका कारण कतिपय प्रतिनिधि भने अधिवेशन लम्बिने चिन्तामा छन् । न्युज कारखाना
