काठमाडौं, २९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पार्टीले राजसंस्थाको विचार त्यागेको बताएका छन् । आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलले समयसापेक्ष आफ्नो दर्शन, मान्यता र विचारका साथै योजना परिवर्तन गर्ने र सोहीअनुसार आफ्नो पार्टीले पनि राजसंस्था त्यागेको बताए ।
राष्ट्र निर्माणमा वैकल्पिक विचार र पार्टी बनाउने उद्देश्यले आफूहरू संगठित भएको बताउँदै उनले भने, 'फरक विचार कसैका विरुद्ध होइन, प्रजातन्त्रको विशेषता र सौन्दर्य भनेको वैचारिक विविधता हो ।' मुलुकमा अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले राजनीतिक क्षेत्रमा अनेक विकृति आएको तर्क गर्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रधानमन्त्री र दलहरू पूर्ण समानुपातिक प्रणालीबाट आउन सक्ने व्यवस्थाको खाँचो औँल्याए ।
